‘ओलीजि अलिकति लाज छ भने राजीनामा दिनुहोस्’



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मालाई पदबाट राजीनामा दिन सुझाव दिएका छन्।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै प्रचण्डले अर्को मूर्खतापूर्ण कदम नचाल्न प्रम ओलीलाई चेतावनी दिएका हुन् ‘तपाईंको चालेको कदमले दुई महिनादेखि जनतामा ठूलो आवेग थियो। अब अलिकति पनि लाज छ भने, नैतिकता छ भने राजीनामा दिनुहोस्,’ प्रचण्डले भने, ‘अर्को मूर्खता गर्नु भयो भने राजा–महाराजाको भन्दा ठूलो दुर्गती हुनेछ। यो मेरो सुझाव हो।’

उनले सर्वोच्चको सही ऐतिहासिक र साहसिक फैसलापछि आफूले गौरवको अनुभूति गरेको बताउँदै यसलाई नेपाली जनताको जीत भएको जिकिर गरे। उनले देशभर विजयी र्याली मनाउन पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए।

उनले अब आफूहरु सबै दलहरूसँग सहमति गरेर अगाडि जाने प्रतिबद्धता पनि व्यक्त गरे। ‘हाम्रो लडाईं कुर्सीको निम्ति होइन। हामीले जनताको अगाडि जे भनेका थियौँ, त्यही गर्छौं,’ उनले भने। उनले केपी ओलीको पक्षमा पुनःस्थापित सांसदहरुलाई ओलीको गफ र धोकाधडीबाट भ्रममुक्त हुन अपिल गरे। ‘अब तपाईंहरु फेरि माननीय हुनुभएको छ। सेटिङ गर्दा जितिन्छ भनेर भ्रममा केपीको पक्षमा लाग्ने माननीय सांसदहरुलाई अब मूल पार्टीमा आउनुहोस् भन्न चाहन्छु। तपाईंहरूलाई स्वागत छ। अब केपीको भूल भुलैयामा बस्न पर्दैन।’