काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मंगलबार राष्ट्रिय सुरक्षा परिषद्को बैठक सम्पन्न भएको छ।
मन्त्रिपरिषद्को बैठकमा प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव) बारे छलफल भएको बुझिएको छ। २०७५ फागुन २८ गते प्रतिबन्ध घोषणा गरिएको विप्लवलाई शान्तिपूर्ण राजनीतिमा फर्काउनेबारे छलफल भएको एक मन्त्रीले जानकारी दिए।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा मुलुकको समग्र सुरक्षा अवस्था, निर्वाचन सुरक्षालगायत विषयमा केन्द्रित रही छलफल भएको बताइएको छ। संसद विघटनसम्बन्धि अदालतमा मुद्धाको छिनोफानो हुने समय नजिकिँदै गर्दा ओलीले राखेको उक्त बैठक महत्वका साथ हेरिएको छ।
बैठकमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मुख्यसचिव शङ्करदास वैरागी र प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी भएका छन्।
नेपालको समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षासम्बन्धी नीति तर्जुमा गर्न तथा सेनाको परिचालन र नियन्त्रण गर्नका लागि सरकारलाई सिफारिश गर्न प्रधानमन्त्रीका अध्यक्षतामा रक्षा, गृह, परराष्ट्र र अर्थमन्त्री तथा मुख्य सचिव र प्रधानसेनापति परिषद्को सदस्य रहने संवैधानिक व्यवस्था छ।