अदालतले सही फैसला गर्छ भन्ने विश्वास छ: प्रचण्ड



काठमाडाैँ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले अदालतले  सही फैसला गर्छ भन्ने विश्वासमा रहेकाे बताए। साथै उनले राजनीतिक युद्धबाट प्रतिगमनलाई पराजित गर्न एकजुट हुनुपर्ने बताएका छन्।

म‌गलबार राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा अनेरास्ववियूका नेता तिलकराज भण्डारीद्वारा लिखित ‘जनयुद्धको हस्ताक्षेर’ नामक पुस्तकको बिमोचन गर्दै अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन्।

अध्यक्ष प्रचण्डले जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरु गुम्ने खतरा रहेको बताएका छन्। उनले भने, ‘प्रतिगमनकारी सरकारले हतियारको बलमा जनयुद्धका उपलब्धिहरु मास्ने कोसिस गरिरहेको छ। यस प्रतिगमनको बारेमा गम्भीर हुनुपर्छ। यस्तै त हो, भनेर छोड्ने गल्ति गर्नु हुँदैन।’

उनले अगाडि भने, ‘हामी शान्तिपूर्ण राजनीतिक युद्ध चाहन्छौं। रक्तपातरहित राजनीतिक युद्धको बाटो मार्फत प्रतिगमनको अन्त्य गर्न सकिन्छ। सक्छौं। ओलीले मुद्धा हारिनै सक्नु भयो। बाँकी अदालतले केही दिनमै संसद विघटनका बारेमा निर्णय फैसला गर्दैछ। हाम्रो अदालतप्रति विश्वास छ, सही फैसला गर्छ भन्ने विश्वास छ। अदालतलाई सम्मान र विश्वास हामीलाई छ। अदालतले हाम्रो विश्वासमाथि घात गर्दैन भन्ने पनि हो।’