सर्वोच्चको फैसलापछि कांग्रेस र जसपा भूमिका के?



काठमाडौँ। सम्भावित राजनीतिक दृश्यलाई नियाल्दै नेकपाका दुवै समूहले यतिबेला कांग्रेसको भूमिका निर्णायक हुने दुवै पक्षको ठम्याइ छ।

कांग्रेसले अहिले निर्वाह गरेको भूमिकाले पनि नेकपाका दुवै पक्षलाई इन्गेज गराएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी सभापति शेरबहादुर देउवाप्रति पूर्ण भरोसा छ।

नेकपाका पुष्पकमल दाहाल र माधवकुमार नेपाललाई कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलासहितका नेताले लिँदै आएको अडानले नेतृत्वलाई ओलीतिर जान रोक्न सक्ने विश्वास छ।

देउवा निर्वाचनको पक्षमा खुलेर लागेका छन् तर पौडेल, सिटौलासहितका नेताहरु प्रतिनिधिसभा पुनस्थापनाको अडानमा छन्। प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भने पनि पुनः स्थापना वा निर्वाचन भन्नेमा कांग्रेसमा एउटै दृष्टिकोण छैन। जसले नेकपाका दुवै समूहलाई कांग्रेस आफूतिरै भएको अनुभूति दिइरहेको छ। कांग्रेसकै जस्तै दृश्य पछिल्लोपटक जनता समाजवादी पार्टी (जसपा) मा पनि देखिएको छ।

प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्छ भन्नेमा जसपामा एकमत छ तर अदालतले विघटनलाई सदर गरेमा निर्वाचनमा जाने कि नजाने भन्नेमा पूर्वसमाजवादी र राजपाका नेताहरुको दृष्टिकोण फरक छ। जसपा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईसहित उनीहरु पक्षीय नेता अदालतले विघटनलाई सदर गरे पनि ओली नेतृत्वको सरकारले गराउने चुनावमा सहभागी नहुने अडानमा छन्।

अर्का अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहितका नेता भने अदालतले विघटनलाई सदर गरेमा निर्वाचनमा सहभागी हुनुपर्ने बताइरहेका छन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ।