काठमाडौँ। क्रिस्टियानो रोनाल्डोले हेडमार्फत् दुई गोल गरेपछि युभेन्टसले क्रोटोनेलाई हराउँदै शीर्ष स्थानमा रहेको इन्टर मिलानसँगको दुरी ८ अंकमा घटाएको छ।
खेलको ३८औँ मिनेट मिनेटमा एलेक्स सान्ड्रोको क्रसमा गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए। पहिलो हाफको इन्जुरी समयमा एरोन रामशेको क्रसमा उनले अग्रता दोब्बर बनाए।
युभेन्टस आएयता साढे दुई वर्षमा उनको यो ७०औँ गोल थियो। यो समयमा रोनाल्डोभन्दा रोबर्ट लेवान्डोस्की र लियोनेल मेस्सीमात्र बढी गोल गरेका छन्। यता, रोनाल्डोको गोल खाने क्रोटोने युरोपको शीर्ष ५ लिगको ७८औँ टोली बनेको छ।
त्यस्तै, इन्टरका रोमेलु लुकाकुलाई उछिन्दै रोनाल्डो यो सिजन सिरिए ए को सर्वाधिक गोलकर्ताको सूचीको शीर्ष स्थानमा उक्लिएका छन्। दोस्रो हाफमा वेस्टन म्याककेनीले युभेन्टसको तेस्रो गोल गरे।