बराबरीमा रोकियो बार्सिलोना



काठमाडौँ। स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले बराबरी खेलेको छ। आइतबार भएको खेलमा बार्सिलोनाले काडिचसँग १-१ गोलको बराबरी खेलेको हो।

घरेलु मैदानमा लिएको सुरुआती अग्रता जोगाउन नसक्दा बार्सिलोनाले बराबरी खेल्नु परेको हो। बार्सिलोनाका लागि खेलको ३२ औं मिनेटमा लियोनल मेस्सीले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। योसँगै मेस्सी ला लिगाका ३६ फरक क्लबविरुद्ध गोल गर्ने खेलाडी बनेका छन्।

८९औं मिनेटमा काडिचका लागि आलेक्स फर्नान्डेजले गोल गर्दै टिमलाई हारबाट जोगाए। बराबरीसँगै बार्सिलोनाले दोस्रो स्थानको रियल मड्रिडसँग अंक बराबरी गर्ने मौका गुमाएको छ।

लिगमा २३ खेल खेलेको बार्सिलोनाको ४७ अंक छ। बार्सिलोना लिगको तेस्रो स्थानमा छ। ५२ अंक जोडेको रियल दोस्रो स्थानमा छ। बराबरी खेलेको काडिच २४ अंकसहित तालिकाको १४ औं स्थानमा छ।