काठमाडौं। म्यानमारमा जारी विरोध प्रदर्शनकामा सेनाकाे गोली लागेर थप दुई जनाको मृत्यु भएको छ।
शनिबार सुरक्षाकर्मीले देशको दोस्रो ठूलो शहर माण्डलेमा गोली चलाउँदा दुई जना प्रदर्शनकारीको मृत्यु भएको हो। यसअघि पनि प्रदर्शनकारीको एक र्यालीमा सुरक्षाकर्मीले गोली चलाउँदा थ्वे हाइङ नाम गरेकी महिलाको मृत्यु भएको थियो। उनी अस्पतालमै रहँदा २० वर्ष पुगेकी थिइन्।
फ्रिन्टियर म्यानमारको रिपोर्ट अनुसार माण्डलेमा सुरक्षाकर्मीले चलाएको गोली टाउकोमा लागदा एक प्रदर्शनकारीको घटनास्थलमै मृत्यु भएको छ। छातीमा गोली लागेका अर्का एक व्यक्तिको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो।
गत माघ १९ मा म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, स्टेट काउन्सिलर आङ साङ सुकीलगायतका नेताहरुलाई हिरासतमा लिएर सत्ता हत्याएको थियो। त्यसलगत्तै सुरु भएको विरोध प्रदर्शन रोकिएको छैन।
पछिल्लो पटक बन्दरगाहका कर्मचारीहरु पनि सैनिक सरकारको विरोधमा उत्रिएका छन्। उनीहरुले जननिर्वाचित सरकारलाई सत्ता नसुम्पिएसम्म काम नगर्ने घोषणा गरेका छन्।