अनलाइन टीभी पत्रकार सङ्घको नयाँ कार्य समिति गठन



काठमाडौँ। पत्रकार जीवन भण्डारीको अध्यक्षतामा अनलाइन टीभी पत्रकार सङ्घको नयाँ कार्य समिति गठन गरिएको छ। काठमाडौँमा भएको सङ्घको पहिलो अधिवेशनले संस्थापक अध्यक्ष भण्डारीकै नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको हो।

नयाँ समितिको वरिष्ठ उपाध्यक्षमा सञ्जिव रेग्मी, उपाध्यक्षमा कुशलभ केसी, महासचिवमा पवन फुँयाल र सचिवमा सरोज गिरी निर्वाचित भएको निर्वाचन समितिका संयोजक भुपराज बस्यालले जानकारी दिए। सङ्घले नयाँ सदस्यता खुला गर्दै नयाँ सदस्यता पाएमध्येबाट केहीलाई कार्य समितिमा मनोनयन गर्ने व्यवस्था गरिएको नवनिर्वाचित सदस्य गोपीकृष्ण लिम्बुले जानकारी दिए।

युट्युव, फेसबुकलगायत सामाजिक सञ्जाल तथा अनलाइनमार्फत टेलिभिजन पत्रकारिताको अभ्यास गर्न थालेका सञ्चारकर्मीलाई शुद्धीकरण र सुदृढीकरण गर्ने उद्देश्यले गत साउनमा सङ्घको स्थापना भएको हो। गत वर्षको माघ २४ गते भएको अनलाइन टीभी पत्रकारको भेलाअनुसार गठन भएको सङ्घले अनलाइन टीभी स्वनियमन निर्देशिका पनि जारी गरेको छ।