‘दासढुङ्गा घटनाको दोष विद्यादेवी र ओलीको टाउकोमा’



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल) पक्षका नेता जगन्नाथ खतिवडाले मदन भण्डारीका हत्यारा पत्ता लगाउने काममा कुनै ध्यान नदिएको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको चर्को आलोचना गरेका छन्।

गत माघ २१ गते मोटरसाईकल दुर्घटनामा परी ज्यान गुमाएका नेता डाचाराज वाग्लेको श्रद्धाञ्जली सभामा बोल्दै नेता खतिवडाले पार्टीका प्रभावशाली नेताहरुकाे रहस्यम निधन हुने र ति घटनाका बारेमा बनेका अध्ययन समितिहरुले उचित रिर्पोट दिन नसकेको बताए।

उनले भने, ‘हाम्रो पार्टीका धेरै नेताहरुको रहस्यमय निधन भएको छ। जसमध्ये जन नेता मदन भण्डारीको नाम अग्रभागमा आउँछ। उक्त घटना निक्कै रहस्यपूर्ण मानिन्छ। आज देशको राष्ट्रपति विद्यादेवी भण्डारी हुनुहुन्छ। तर, उहाँले मदन भण्डारीको बारेमा अनुसन्धान गर्ने, रहस्य पत्ता लगाउने काम गर्नु भएन। साथै उक्त घटनाको बारेमा एक सदस्सीय अध्ययन समितिका संयोजक केपी ओली प्रधानमन्त्री हुनुहुन्छ। उहाँलाई झन् कुनै मथलव नै छैन।’

उनले अगाडि भने, ‘मदन भण्डारी घटना जति रहस्यमय छ, आजका दिनसम्म पनि केपी ओलीले गरेको अध्ययन रिपोर्ट सार्वजनिक नगर्नु झन् रहस्यपूर्ण छ। श्रीमती राष्ट्रपति र अध्ययन समितिको जिम्मा लिएको व्यक्ति प्रधानमन्त्री हुँदासमेत उक्त घटनाका बारेमा कुनै सोधि खोजि गरिदैन। यो झन् रहस्यको विषय हो।’

उनले भने, ‘म यस मञ्चबाट चुनौति दिन चाहन्छु। हामीले गरिरहेका शंकाहरु र रहस्यहरुको जवाफ दिन सक्ने तागत ओलीमा छ भने मदन भण्डारी घटनाका बारेमा अध्ययन गर्न तत्काल समिति बनाउनुहोस्। उक्त घटनाका बारेमा सत्य तथ्य जनतालाई बताई दिनुहोस्। होईन भने दास ढुङ्गाको दोष ओली र विद्यादेवी भण्डारीको टाउकोमा थुपरिन्छ।’

अनेरास्ववियूका पूर्व अध्यक्षसमेत रहेका वाग्लेको सम्झनामा अनेरास्ववियू केन्द्रीय कमिटीले अयोजना गरेको श्रद्धाञ्जली सभामा पूर्वमन्त्री गिरिराजमणी पोखरेल, लिलामणी पोखरेललगायत अनेरास्वियूका नेता कार्यकर्ताहरुको बाग्लाे उपस्थिति रहेको थियो।