सुनसरी। कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा कम्युनिस्टले लोकतन्त्रलाई धरापमा पारेको बताएका छन्। उनले सरकार सञ्चालन गर्ने म्यान्डेट पाएको कम्युनिस्टको बहुमतको पार्टीभित्रको विवाद मिलाउन नसक्दा अध्यक्षले राजीनामा दिएर समस्या समाधान गर्नुपर्नेमा प्रतिनिधिसभा विघटन गरेर देश र जनतालाई प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या भण्डारीले धोका दिएको बताए।
नेता पौडेलले जनताको अथक संघर्ष र बलिदान पछि बनेको संविधानले मार्गदर्शन गरेको सोझो बाटोमा प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी हिँड्न नचाहँदा देश, जनता र संविधानको भविष्य धरापमा परेको बताए।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुक्रबार धरान उपमहानगरपालिकाद्वारा आयोजित समारोहमा नेता पौडेलले भने, ‘पाँच वर्षसम्म जनताले बहुमत दिएर देशमा समृद्धि ल्याउने अवसरलाई गुमाएका छन्। संविधानलाई सडकमा छताछुल्ल पारिएको छ।’ उनले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले पार्टीभित्रको विवाद मिलाउन नसकेर आफू नभए कुर्सी नै फाल्ने अहंकारी र असहिष्णु प्रवृत्ति देखाउँदै ऐतिहासिक भुल गरेको बताए।
उनले अहिलेको राजनीतिक परिस्थिति सहज नभएकाले सर्वोच्च अदालतले संविधान नजोगाए देश थप बिग्रहमा जाने बताए। उनले भने, ‘अरु बेलाजस्तो सामान्य अवस्थामा चुनाव भएर नयाँ प्रतिनिधि चुनिएर सरकार बन्छ भन्ने नसोचे हुन्छ। प्रजातन्त्रमा व्यक्ति सर्वेसर्वा हुँदैन। प्रधानमन्त्री र राष्ट्रपतिले लोकतन्त्रको संस्कार सिक्न बाँकी नै रहेको पनि बताए। उनले भने, ‘सर्वोच्च अदालतमा विचाराधीन भएको संसद् विघटनको मुद्दालाई सर्वोच्चले लोकतन्त्र बलियो बनाउन जोगाउन नसके देश बिग्रहमा फस्ने छ।’
उनले प्रतिनिधिसभाको प्रतिपक्षले पनि कुनै बाधाअड्चन नगरेको अवस्थामा प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारीले संविधान, जनताको अपेक्षा, जनादेशलाई सडकमा फालेर अर्को ऐतिहासिक अपराध गरेको पनि बताए। उनले यस्तो राजनितिक अपराधलाई जनताले माफ नदिने पनि बताए।