अब फुट्ने पालो लड्डु पार्टीको !



काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक तवरले गत पुस ५ गते संसद विघटन गरेपछि नेकपा (नेकपा) व्यवहारिक रुपमा विभाजन भयो। त्यस यता देश अस्थिरताको घनचक्करमा घुमिरहेको छ। अर्को शब्दमा भन्नुपर्दा संसद विघटनपछि नेपाली राजनीतिक आकासमा कालो बादल मडारिएको छ।

मौसम पूर्वानुमानअनुसार पानी पर्ने र घाम लाग्ने बादल होईन। यो राजनीतिक अनिश्चितताको बादल हो। जतिबेला जे पनि हुन सक्छ। घाम लाग्न पनि सक्छ। पानी पर्ने पनि सक्छ। तर यहाँनेर ख्याल राख्नुपर्ने कुरा भनेको विरुवालाई वर्षा आवश्यक कि बाढी ? भन्ने नै हो।

संसद विघटनपछि प्राय राजनीतिक दलहरु विभक्त जस्तै देखिन्छन्। मुख्यत नेपाली कांग्रेसको वाक युद्ध सहतमा आएको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच मतभिन्नता जारी छ। मुद्धामा एक भएपनि कांग्रेसका सभापति देउवा, नेता पौडेर अर्को नेता कृष्ण प्रसाद सिटौला संसद विघटनलाई लिएर दुई भागमा बिभाजित छन्। पौडेल र सिटौला पक्ष ओलीको कदमको चर्को विरोध गरिरहेको छ। उक्त पक्ष आन्दोलन चर्काउनु पर्नेमा छ। उता देउवा अदालतका बारेमा बोल्नु हुँदैन भन्दै सम्मानको नक्कली मानक अघि सारिहेका छन्। अर्थात उनी ओलीले तोकेको मितिमा चुनाव हुनेमा ढुक्क जस्तै देखिन्छन्।

केही दिन पहिले राजधानीको शान्तिबाटिकामा कांग्रेसका युवा नेता गगन थापाले कांग्रेसलाई लड्डु पार्टीका रुपमा चित्रण गर्दै नेतृत्वको खरो आलोचना गरेका थिए। त्यतिमात्रै नभएर उनले अदालतका बारेमा बोल्न हुँदैन भन्नेहरु कायर हुन् भन्दै देउवाको व्यवहारमाथि प्रहार गरेका थिए।

त्यसपछि देउवाले पौडेल र सिटौला पक्षलाई निर्वाचनबाट डराउने, निर्वाचनमा हरुवा जस्ता व्यक्तिगत आरोपमा उत्रेर हकार्न सुरु गरेका थिए। शुक्रबार सभापति देउवाले नुवाकोटमा सर्वोच्च अदालतको विश्वास गर्न पार्टी कार्यकर्तालाई आग्रह गरे। नुवाकोट जिल्ला कार्यसमितिको भवन उद्घाटन गर्दै देउवाले भनेका ‘संविधान सम्बन्धी कुरा, कानून नियमको कुरा गर्ने अदालत बाहेक को छ यहाँ? अदालतलाई विश्वास गरौं न प्लिज। अदालतलाई विश्वास नगरेर कसको गर्ने यहाँ?’

अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत किन चाहियो भन्ने देउवाको प्रश्न थियो। उनले भने, ‘अदालतलाई धम्क्याएर तर्साएर काम गराउने भए अदालत हटाइदिए भयो त। जसले बढी धक्म्याउछ उसको कुरा माने भइहाल्यो नि।’ ओलीको दुत जसरी देउवाले चुनाव हुँदैन भन्ने डर हटाउन आग्रह गर्दै चुनावका लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिए। अदातले संसद विघटन सदर नै गर्छ जस्तो गरी उनले भनेका छन, ‘डराएर कहीँ हुन्छ? डर हटाउनुस्। चुनावमा भाग लिने हो। जित्ने हो।’

नयाँ प्रधानमन्त्रीका लागि बाटो ब्लक गरेर केपी शर्मा ओलीले चुनावको हवला दिएको सामान्य ज्ञान नभएको जसरी देउवाले कार्यकर्तालाई चुनाव चुनाव भन्दै थकाईरहेका छन्। ओलीले निर्वाचत नगराइ सुखै नपाउँने देउवाको भनाइ छ। उनले भने, ‘चुनाव हुँदै हुँदैन भनिरहेका छन्। चुनाव भयो भने नि? चुनाव हुन्छ, हुन्छ, हुन्छ। तयार हुनुस्। पार्लियामेन्ट फिर्ता भयो भने भयो, भएन भने त चुनाव हुन्छ नि। ओलीले चुनाव नगरेर सुख पाउँछ यहाँ?’

उनले चुनाव हुँदैन भनेर भ्रम फैलाउनेको पछि नलाग्‍न आग्रह गरे। उनले भने, ‘चुनावका लागि तयार भएर बस्ने। पार्लियामेन्ट फिर्ता भयो भने हामी काम गरौंला। फिर्ता भएन भने चुनाव हुन्छ।’ देउवाले ओलीको कदम गलत छ, संसद पुनस्थापनाका बारेमा कांग्रेस आन्दोलित हुनुपर्छ भन्ने नेताहरुतर्फ लक्षित गर्दै राजनीति छोड्ने या चुनावको तयारी गर्ने ? भन्दै विकल्प अघि सारेका छन्। देउवाले भनेको कुरालाई आधार मान्ने हो भने उनले राजनीति छोड्ने विकल्पको अर्थ ब्यापक हुन्छ। पौडेल र सिटौला पक्षलाई दिएको उक्त विकल्पले कुन रुप लिन्छ? त्यो भने हेर्न बाँकी छ। सारा जीवन राजनीतिमा लगानी गरेका नेताहरुलाई खुल्ला सभामाबाटै देउवाले यसरी राजनीति छोड्न निर्देशन दिनु सामान्य कुरा होइन।

नेकपाका दुवै समूहलाई निर्वाचन लागेको र चुनाव चिह्नपछि लागेको भन्दै आफ्ना पार्टीका नेताहरु भने चुनाव हुँदैन भनेर बसेको देउवाको गुनासो छ। उनले भने, ‘भइहाल्यो भने तयारी गर्न पर्दैन, भाग्ने? तयारी गर्दा के बिग्रिन्छ? चुनावसँग डराएर हुन्छ? कि राजनीति छोड्नुस्, कि चुनावको तयारी गर्नुस्।’ देउवाले अघि सारेको विकल्प पौडेल र सिटौला पक्षले कसरी लिन्छ? राजनीति छोड्नका लागि दिएको निर्देशनले पार्टीमा बिग्रह ल्याउछ या घनभूमि छलफल र आलोचनामा प्रवेश गर्छ? त्यो पनि हेर्नैपर्छ।

कांग्रेसलाई कांग्रेसबाहेक कसैले हराउन नसक्ने देउवाको दाबी छ। यस्तै देउवाले प्रधानमन्त्री ओलीको खिलापमा कांग्रेसका नेताहरू बोल्न सक्ने भएको भन्दै धन्यबाद दिए। ‘मैले बोलेको थिएँ, तपाईहरुलाई याद होला। कम्युनस्टि पार्टीको शासन आएपछि बोल्न, लेख्न पाइने छैन। हास्न, रुन पनि पाइने छैन भनेको थिएँ,’ मञ्चमा रहेका नेताहरूतर्फ हेर्दै देउवाले भने, ‘आज बल्ल बोल्ने भएछन्। ओलीको खिलापमा बोल्ने डर हटिसक्यो धन्यवाद छ। ओलीको खिलापमा बोल्न सक्ने हुनुभएछ। अझै प्रचण्डको खिलापमा बोल्न नडराउनुस् है।’

देउवाले प्रचण्डको खिलापमा पनि बोल्नुपर्ने बताए। ‘प्रचण्डको खिलापमा बोल्न हामी डराउँछौं। प्रचण्डको खिलापमा बोल्न डराएको डराएइ छन् नि यहाँ। प्रचण्ड खिलापमा अझै बोल्न नसक्ने भएका छन् विचराहरु। त्यस कारण म यस्तो पार्टी बनाउन चाहन्छ, जुन दिन प्रचण्ड र ओलीको खिलापमा बोल्न सक्ने हिम्मत भएको पार्टी बनाउनुपर्ने आवश्यकता छ। त्यही काममा हामीले लाग्नुपर्छ।’

वर्तमान संविधानको जन्मदाता हुनुको नाताले संसद पुनःस्थापनाको पक्षमा कांग्रेसले कुनै पनि मूल्य चुकाउनु पर्ने आम बुझाई छ। भद्रगोल अवस्थामा फसेको नेपाली राजनीति अवस्थालाई दिशा निर्देश गर्न सक्नुपर्ने नैतिक जिम्मेवारीलाई कांग्रेसले नजरअन्दाज गरेको देखिन्छ। नागरिक समाज, पत्रकारहरु, संविधानविद्, अधिवक्ताहरुले ओलीको कदम असंवैधानिक भन्दै आन्दोलन जारी राखेको बेला देउवा नेतृत्वको कांग्रेसको भूमिकामाथि शंका गर्नुपर्ने धेरै कारणहरु छन्। यो पनि ठिक, त्यो पनि ठिक भन्ने अवस्थामा कांग्रेस कसरी पुग्यो ? देउवाको गर्जनका पछाडिका कारणहरु के के हुन्? लड्डु प्रवृत्तिले कांग्रेसलाई कता लैजान्छ ? यि यावत प्रश्नको उत्तर खोज्ने जिम्मा त सचेत कांग्रेसीहरुकै हो।