‘निषेध र विभेदको राजनीतिले मुलुक जटिलतातर्फ फस्यो’



काठमाडौँ। पूर्वराजा ज्ञानेन्द्र शाहले निषेध र विभेदको राजनीतिले मुलुक दिनप्रतिदिन जटिलतातर्फ फस्दै गएको बताएका छन्।

शुक्रबार परेको ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै शाहले प्रजातन्त्र भनेको आवधिक निर्वाचन र दल विशेषका नेताहरुको शासन प्रणाली मात्रै नभई सामाजिक जीवपद्धति समेत भएको बताएका छन्।

‘नेपाल जनता र राजाबाट खडा भएको र त्यसको अस्तित्व रक्षा पनि सहमतिबाटै हुने यर्थाथको अवज्ञाले निषेध र विभेदको राजनीति सुरु गरिएकोमा मुलुक दिनप्रति दिन जटिलतामा फस्दै गएको महसुस आम नेपालीले गरिरहेका छन्’, पूर्व राजा शाहले दलहरुप्रति संकेत गर्दै भनेका छन् ।

प्रजातन्त्र आधुनिक शासन पद्धतिको सर्वोत्तम विधि व्यवस्था भएको भन्दै शाहले विश्वमान्य प्रजातन्त्रको मान्यता अनुरुप नेपालमा प्रजातान्त्रिक विधि व्यवहार अघि बढोस् भन्ने आकांक्ष सवैको रहेको बताएका छन्।

‘प्रजातन्त्र प्राप्तिको ७० बर्षपछि आएर पनि हामी प्रजातन्त्रकै विषयमा विवाद, बहस, द्वन्द्वमै व्यस्त र ग्रस्त छौँ’, शाहले असन्तुष्टि जनाउँदै भनेका छन्, ‘प्रजातन्त्रमा जनशक्ति र जनसम्मति नै विशिष्ट पक्ष हो। जनताको आस्था, चाहाना र जनभावना अन्ततः अमिर रहन्छ। यसलाई मेट्न खोजेर, बटारेर मेटिँदैन बटारिँदैन।’

उनले मातृभूमिको पवित्र माटो छातीमा राखेर आत्मसमीक्षा गर्नुपर्ने बेला आएको समेत शुभकामना सन्देशमा स्मरण गराएका छन् ।