काठमाडौँ। बैतडीकी किशोरी भागरथी भट्टको हत्या आरोपमा पक्राउ परेका १६वर्षीय किशोरले आफूले बलात्कारसमेत गरेको स्वीकारेका छन्।
बिहीबार सरकारी वकिलले लिएको बयानका क्रममा उनले आफूले किशोरीलाई बलात्कार गरेको स्वीकार गरेका हुन्। यसअघि उनले आफूले हत्यामात्रै गरेको स्वीकारेपनि बलात्कार नगरेको दावी गर्दै आएका थिए।
तर अभियुक्त किशोरका बुबालाई समेत साक्षी राखेर सरकारी वकिलले लिएको बयानका क्रममा आफूले घटनास्थलमा बलात्कार गरेको स्वीकार गरेका हुन्। स्रोतका अनुसार आफूमा बदलाको भावना रहेको र सोहीअनुसार आफूले भागरथीको बलात्कारपछि हत्या गरेको उनले प्रहरीलाई बताएका छन्।
स्रोतका अनुसार किशोरका आफन्त केही वर्ष पहिले बलात्कृत भएको र सो बलात्कारको आरोप भागरथीका आफन्तमाथि लागेको थियो। सोही प्रकरणमा किशोरमाथि बदलाको भावना रहँदै आएको अनुसन्धानबाट खुलेको छ।
बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा प्रहरीले सोही गाउँका १६ वर्षीय किशोरलाई पक्राउ गरी बुधबार सार्वजनिक गरेको थियो। जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनलाई सार्वजनिक गरेको हो।