कर्णाली समृद्धिको आधार: कृषि र पूर्वाधार



सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली समृद्धिको आधार पहिलो पूर्वाधार र दोश्रो कृषि भएको बताएका छन्।

बिहिबार प्रदेश राजधानी वीरेन्द्रनगरमा भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले आयोजना गरेको ‘प्राङ्गारिक खेती प्रवर्धन तथा रैथाने वाली संरक्षण’ दिवसलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले यस्तो बताएका हुन्।

मुख्यमन्त्री शाहीले भने, ‘कृषि पेशामा लागेका युवाहरुलाई हामी सहयोग गर्न तयार छौं। युवाहरु कृषि उत्पादनमा लाग्नुहोस्।’ कृषि तथा पशुपालन क्षेत्रमा अनुदान दिँदा दुरुपयोग भएको बताउँदै मुख्यमन्त्री शाहीले वास्तविक किसानलाई फर्म वा योजना धरौटी राखेर मात्रै ऋण दिइने बताएका छन्।

उनले अगाडि भने, ‘रैथाने बाली संरक्षण, पशुपालन, अर्गानिक खेती उत्पादन गर्नका लागि सानो लगानीमा कृषि खेती गर्ने युवाका लागि उसको फर्म उनीहरुको कागजात धरौटी राखेर ऋण दिने कानून प्रदेश सभामा पेश गरिएको छ। यसै वर्षबाट युवालाई कृषि क्षेत्रमा सहुलियत ऋण दिइने गृहकार्य भइरहेको छ। जुन योजनाले कर्णालीलाई अर्गानिक बनाउनमा सहयोग हुन्छ।’