सुर्खेत। राजनीतिक दलको कोटा प्रणालीबाट कर्णाली प्रदेशको लोकसेवा आयोगका पदाधिकारी चयन गरिएकाे छ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका दलका नेता जीवनबहादुर शाही र कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीकाे भागबण्डाका आधारमा पदाधिकारी चयन भएका छन्।
विपक्षी दलका नेता शाहीले श्रीमती बसन्ती कुमारी सिंह (शाही) लाई लोकसेवा आयोगको सदस्य बनाएका छन्। अध्यक्षमा रामप्रसाद उपाध्याय र अर्का सदस्यमा भक्तबहादुर खड्का नियुक्त भएका छन्।
लोकसेवा आयोगका तिनै पदाधिकारीलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले बिहिबार पद तथा गोपनीयताको शपथ खुवाएका छन्।
बुधबार मात्रै मुख्यमन्त्री शाहीले मुख्यमन्त्रीमा निर्वाचित भएको ३ वर्षपछि सचिवालय परिर्वतन गरेका थिए। बुधबार प्रमुख स्वकिय सचिवमा कृष्णप्रसाद आचार्यलाई नियक्त गरेका छन्।
त्यस्तै मुख्यमन्त्रीको जनसम्पर्क सल्लाहकारमा बिष्णुबहादुर बिक (बिकल्प) र स्वकीय सचिवमा रबिन्द्रबहादुर शाहीलाई नियुक्त गरिएको थियो।
यस अघि जनसम्पर्क सल्लाहकार जनकनाथ योगी, प्रमुख स्वकिय सचिव खेमबहादुर सिंह र स्वकीय सचिव सुमन शाही थिए। उनीहरुको कार्यसम्पादनमाथि निरन्तर प्रश्न उठेपछि मुख्यमन्त्री शाहीले टिम चेन्ज गरेको बुझिएको छ।