काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको निर्णय पार्टीलाई स्वीकार्य हुने स्पष्ट पारेका छन्।
बिहीबार पोखरामा नेपाल राष्ट्रिय मगर संघ गण्डकी प्रदेश समितिद्वारा आयोजित सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि सर्वोच्च अदालतमा दायर भएको मुद्दामा अदालतले पुनः स्थापना वा निर्वाचन जे निर्णय गरेपनि कांग्रेसलाई मान्य हुने बताएका हुन्।
उनले संसद विघटनको विषयलाई हल गर्न पुनर्स्थापना र चुनाव मात्रै विकल्प रहेको पनि बताए। उनले भने, ‘मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। बहस चलिरहेको छ। अदालतले संसद पुनःस्थापना गर भन्यो भनेपछि स्वीकार गर्छौं। चुनाब गर भन्यो भनेपनि हामलाई स्वीकार्य छ। हाम्रो चुनाव चिन्ह रुख छँदैछ। अदालतलाई यसो गर भनेर निर्देशन दिने होइन निर्णय मान्ने हो।’
सडकमा प्रदर्शन गरेर अदालतलाई दवाव दिन नहुने बताउँदै देउवाले जुलुस हेरेर फैसला गर्ने अवस्था आए पनि सडकमा कार्यकता उतार्न कांग्रेससँग पैसा नभएको स्पष्ट पारे।