भारतले ५१ करोड लगानीमा ६ वटा विद्यालय भवन निर्माण गर्ने



काठमाडौँ। भारत सरकारले ५१ करोड आठ लाखको लागतमा ६ वटा माध्यमिक विद्यालय निर्माण गर्ने भएको छ।

त्यसका लागि नेपालस्थित भारतीय राजदूतावास र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई ‘शिक्षा’ बीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

६ वटा विद्यालयमध्ये कान्ति भैरव माध्यमिक विद्यालय, चम्पादेवी माध्यमिक विद्यालय, धापासी माध्यमिक विद्यालय, विष्णुदेवी माध्यमिक विद्यालय काठमाडौं जिल्लामा पर्छन् भने बाँकी दुईवटा सिद्घेश्वर माध्यमिक विद्यालय र हरिसिद्घि माध्यमिक विद्यालय काभ्रे जिल्लामा रहेका छन्।

काठमाडौंको कागेश्वरी नगरपालिकास्थित कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण सुरु भएको छ । त्यसका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासका नियोग उप–प्रमुख नामग्य सी। खम्पाद्वारा भूमि पूजन कार्यक्रम सम्पन्न भएको दूतावासले जनाएको छ।

२६ करोड ६ लाख लागतमा पुनर्निर्माण भइरहेको कान्ति भैरव माध्यमिक विद्यालय सरकारले तोकेको भूकम्प प्रतिरोधी मापदण्डअनुरुप निर्माण हुनेछ। उक्त तीनतले भवनमा ३० वटा कक्षाकोठा, पुस्तकालय र प्रयोगशाला/अभ्यास कक्षका साथै छात्र तथा छात्राका लागि छुट्टै सरसफाई संरचना तथा फर्निचरको व्यवस्था हुनेछ। यी विद्यालयहरुको निर्माणका लागि केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई), रुड्कीले प्राविधिक सहयोग प्रदान गर्नेछ। केन्द्रीय भवन अनुसन्धान संस्थान (सीबीआरआई) भूकम्प प्रतिरोधी पुनर्निर्माण क्षेत्रमा भारतकै शीर्ष संस्थानमा पर्दछ।

शिक्षा, स्वास्थ्य, साँस्कृतिक सम्पदा तथा आवास क्षेत्रमा पुनर्निर्माण परियोजनाका लागि भारत सरकारले २५० मिलियन अमेरिकी डलर आर्थिक सहयोग गर्ने प्रतिबद्घता जनाएको छ। त्यसका शिक्षा क्षेत्रका लागि मात्र ५० मिलियन अमेरिकी डलरको प्रतिबद्घता जनाएको छ। यस सहयोग अन्तर्गत नेपालका आठ जिल्लामा २०७२ सालको भूकम्पले क्षति पुर्याएका ७१ वटा शैक्षिक संस्थाहरुको पुनर्निर्माण भइरहेको छ।

गोरखा र नुवाकोट जिल्लामा ८ वटा विद्यालयहरुको निर्माण कार्य सम्पन्न भइसकेको छ भने ५६ वटा विद्यालयहरु निर्माणाधीन अवस्थामा छन्। त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको पुनर्निर्माणका लागि बोलपत्र आव्हानसम्बन्धी कार्य पनि अघि बढाइएको छ।