आयल निगमलाई अनेरास्ववियूको ४८ घण्टे अल्टिमेटम



काठमाडौँ। अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले नेपाल आयल निगमलाई मूल्यवृद्धि फिर्ता गर्न ४८ घण्टे अल्टिमेटम दिएको छ।

निगमले हप्तामा दुई पटक मूल्यवृद्धि गरेको विरोधमा अनेरास्ववियूले बिहिबार निगमको कार्यालय बहरमहल पुगेर धर्ना तथा ज्ञापनपत्र बुझाएको छ। विरोध कार्यक्रमलाई सम्बोधन गर्दै सह-संयोजक रञ्जित तामाङले आफ्ना मागहरु पूरा नगरिए कडा कदम चाल्ने बताए।

उनले भने, ‘निगमले बोनस खानका लागि मूल्यवृद्धि गरेको छ। ठूला योजनाहरुको निमार्णको नाममा पेट्रोलीय पदार्थको मूल्यवृद्धि गरेर जनताको ढाडे सेक्ने काम गरेको छ। जनतालाई मारमा पारेर बोनस खानुपर्ने? अब हामी एकथान ज्ञापनपत्र बुझाएर, एक कप चिया खाएर फर्किदैनौं। ४८ घण्टाभित्र मूल्यवृद्धि फिर्ता नगरिए कडा आन्दोलन गर्नेछौं।’

कामचलाउ सरकारका प्रधानमन्त्री केपी ओलीका विरुद्धमा आन्दोलित बनेको अनेरास्ववियूले मूल्यवृद्धिका बारेमा गहन भएर आन्दोलन सुरु गरेको तामाङको भनाई छ। उनले भने, ‘सरकारी गाडि चढेर सडकमा हिडेपछि छानिछानि कारबाही गर्छौं। आयल निगमलाई यसपाली देखाई दिन्छौैं। हामी प्रतिगामी सरकारका मन्त्रीहरुलाई गाडि चढ्ने रोक लगाएका छौं। त्यो कारबाही निगमका कर्मचारीमाथि पनि गर्छौं।’

उनले अन्तर्राष्ट्रिय मूल्यवृद्धि हुँदा नेपालमा बढ्ने र घट्दा घट्ने सर्वब्यापी नियम भएको भन्दै यसअघि गरिएका सम्झौताहरु निगमलाई पालना गर्न अनुरोध गरेका छन्। उनले भने, ‘विद्यार्थीलाई सौलियत ग्यास उपलब्ध गराउने कुरा कहाँ गयो? विश्वमा मृल्यवृद्धि हुँदा नेपालमा बढ्ने र घट्दा घट्ने कुराको सहमति के भयो? यसरी जनतालाई लुट्न पाइन्छ?’

प्रदर्शनकारीहरुले ‘मूल्य वृद्धि फिर्ता गर, निगमको आयव्यय पारदर्शी गर, चुहावट नियन्त्रण गर, पेट्रोलियम पदार्थमा विद्यार्थी सहुलियत कायम गर’ जस्ता प्लेकार्ड प्रदर्शन गरेका थिए।

निगमले यो सातामात्रै माघ २८ र फागुन ४ गते पेट्रोलियम पदार्थको मूल्ववृद्धि गरेको थियो। फागुन ४ गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो भने माघ २८ गते खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य बढाएको थियो।

विरोध प्रर्दशनमा अनेरास्ववियूका केन्द्रीय नेताहरु सुरेन्द्र बस्नेत, सुदेश पराजुली, पञ्चा सिंह लगायतको उपस्थिति रहेको थियो।