मूल्य वृद्धिको विरोधमा अनेरास्ववियूद्वारा प्रदर्शन



काठमाडौँ। सरकारले इन्धनको मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियू (रञ्जित तामाङ समूह) ले देशभरका क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको छ।

एक सातामा दुई पटकसम्म इन्धनको मूल्य वृद्धि गरेको भन्दै रञ्जित समूहले काठमाडौँको रत्नराज्य क्याम्पस अगाडि टायर बालेर प्रदर्शन गरेको छ। कालो पट्टि बाँधेर प्रदर्शनकारीले सडकमा बालेको टायर प्रहरीले हटाएको थियो। प्रदर्शनकारीहरुले केपी ओली सरकारविरुद्ध चर्को नाराबाजी गरेका छन्।

बिहिबार बिहान क्याम्पस अगाडि विरोध प्रदर्शन गरेको अनेरास्ववियूले दिउँसो बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गर्नेछ। दिउँसो १ बजे निगमको कार्यालय घेराउ गरी पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा ज्ञापनपत्र बुझाउने अनेरास्ववियूको तयारी छ।

नेपाल आयल निगमले पछिल्लो पटक यही फागुन चार गते डिजेल, पेट्रोल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँको दरले बढाएको थियो।

त्यसअघि गत माघ २८ गते पनि खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ तथा पेट्रोल र डिजेलमा प्रतिलिटर दुई रुपैयाँको दरले मूल्य वृद्धि गरेको थियो।