भागरथीका हत्यारा भट्ट सार्वजनिक



काठमाडौँ। बैतडीकी १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न दिनेश भट्टलाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।

जिल्लाको दोगडाकेदार गाउँपालिका–७ कि भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा पढ्ने भट्टको प्रकरणमा संलग्नता पुष्टि भएपछि प्रहरीले सार्वजनिक गरेको हो।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख उत्तमराज सुवेदीले जिल्ला प्रहरी कार्यालय, बैतडीमा आयोजित पत्रकार सम्मेलनमा प्राप्त प्राविधिक प्रमाण, प्रत्यक्षदर्शी, साबिती बयान लगायतका आधारमा भट्टलाई पक्राउ गरिएको जनाएका छन्।

घटनापछि उनी भागरथीको न्यायका लागि सुरु गरिएको आन्दोलनमा सहभागी भएका थिए। तर, उनको व्यवहार भने परिवर्तन भएको थियो। घटनास्थलको त्रुटिरहित ढंगले प्रमाण संकलन गरेर प्रयोगशालामा पनि केही प्रमाण पठाइएको प्रहरीले बताएको छ।

पक्राउ परेका भट्टविरुद्ध भागरथीका दाजुले किटानी जाहेरीसमेत दिएका छन्। प्रकरणको सफल अनुसन्धान गरेको भन्दै स्थानीयवासीले डीआईजी सुवेदी लगायतका अधिकृतहरुलाई फूलमाले सम्मान गरेका थिए।

गत २१ माघमा सनातन माध्यमिक विद्यालयमा पढ्न गएकी भट्ट साँझसम्म घर नफर्किएपछि परिवारले खोजी थालेको थियो। भोलिपल्ट अपराह्न उनको पोष्टमार्टम रिपोर्टले भट्टको टाउको र हातमा चोट लागेको देखाएको थियो भने घाँटी थिचिएका कारण मृत्यु भएको भनेको थियो। घटनापछि प्रहरीले धनगढीस्थित कुकुर शाखाबाट ट्याकर डग मगाएको थियो, जसले अभियुक्त खोचलेक बजारतिर गएको संकेत गरेको थियो।