काठमाडौँ। पत्रकार ललित बुढा (विपद् पत्रकारिता पुरस्कार-२०७७) बाट सम्मानित भएका छन्।
नेपाल पत्रकार महासंघको २६औं महाधिवेशनको अवसरमा पत्रकार बुढालाई (विपद् पत्रकारिता पुरस्कार-२०७७) बाट सम्मान गरिएको हो। अन्नपूर्णपोष्ट दैनिककर्मी समेत रहेका बुढालाई नेपाल सरकारका प्रवत्ता एवम् संचारमन्त्री पार्वत गुरुङले सम्मानपत्र प्रदान गरेका थिए। त्यस्तै बीबीसी नेपाली सेवाका पकाश पन्त, गोरखापत्रकी मुना हमाल पनि सम्मानित भएका छन्।
‘प्रेस स्वतन्त्रताको आधारः सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने मुख्य नारासहित बुधबारदेखि महासंघको महाधिवेशन सुरु भएको हो। उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले महाधिवेशनको उदघाटन राष्ट्रिय सभागृहमा गरेका छन्।
खुलासत्र सकिएलगत्तै राष्ट्रिय सभागृहमै बन्दसत्र सुरु भएको छ। बन्दसत्रबाट महासचिव रमेश विष्ट र कोषाध्यक्ष राजेश मिश्रले पेश गर्ने प्रतिवेदनहरु पारित गरेर आजै कार्यक्रम सक्ने तयारी रहेको छ।
विधानमा भएको व्यवस्था अनुसार महाधिवेशनको उदघाटन समारोह सकिएको एक महिनाभित्र महासंघको नयाँ कार्यसमितिका लागि निर्वाचन हुनेछ।