काठमाडौँ। म्यान्मारमा सेनाको नियन्त्रणमा रहेकी नेता आङ सान सू चीमाथि दोस्रो आपराधिक अभियोग लगाइएको छ।
उनलाई मङ्गलबार भिडिओमार्फत् सैन्य सरकारले अदालतसमक्ष पेस गरेको थियो। यसअघि उनीलाई अवैधानिक रूपमा सञ्चार उपकरण वाकीटकी राखेको अभियोग लगाइएकोमा अहिले प्राकृतिक प्रकोपसम्बन्धी कानुन उल्लङ्घन गरेको अभियोग थपिएको छ।
तर, उक्त अभियोग किन लगाइएको भन्ने स्पष्ट छैन। माघ १९ मा सेनाले देशको शासनसत्ता हातमा लिएपछि अहिले म्यान्मारमा विरोधप्रदर्शन भइरहेको छ।
सेनाले नयाँ निर्वाचन गराउने र सत्ता हस्तान्तरण गर्ने बताएको भए पनि प्रदर्शनकारीहरूले सू चीसहित सबै नेताहरूलाई तत्काल मुक्त गर्नुपर्ने र भर्खरै सम्पन्न निर्वाचनको परिणाम स्वीकार्नुपर्ने बताउँदै आएका छन्। सेनाले उक्त निर्वाचनमा धाँधली भएको दाबी गर्ने गरेको छ।