भदौमा महाधिवेशन नभए कांग्रेसको वैधानिकता समाप्त



काठमाडौँ। नेपाली कांग्रेसको यही फागुन ७ गते तय गरिएको १४औँ महाधिवेशन अनिश्चित बनेको छ।

कांग्रेसको १४औँ महाधिवेशन आगामी भदौभित्र पनि हुन नसकेमा पार्टीको वैधानिकता नै समाप्त हुनेछ। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपा ललितपुरमा बस्ने केन्द्रीय कार्यसमितिको बैठकमा महाधिवेशनको नयाँ कार्यतालिकाको प्रस्ताव छलफलका लागि पेस गर्ने बुझिएको छ।

सभापति शेरबहादुर देउवा नेतृत्वले आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर पार्टीको विधानअनुसार एक वर्ष थप गरेको अवधि पनि यही फागुन १९ गते समाप्त हुँदैछ। नेपालको संविधानअनुसार काँग्रेसले अबको छ महिनाभित्र कुनै पनि हालतमा महाधिवेशन गर्नैपर्ने हुन्छ।

केन्द्रीय कार्यसमितिमा पेस गरिने प्रस्ताव र महाधिवेशनको अर्को मिति तय गर्नेलगायतका विषयमा सभापति देउवासहितका शीर्ष नेताहरूबीच छलफल पनि भएको छ।

पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले पार्टी सचिवालयले तयार पारेको महाधिवेशनको नयाँ कार्यतालिकालाई बुधबारको कार्यसमितिमा पेस गरिने जानकारी दिएका छन्।