ओली अराजकताको अन्त्य कहिले?



काठमाडौँ। नेपालीमा एउटा उखान छ, ‘कहीँ नभएको जात्रा, हाँडि गाउँमा।’ हाम्रो देशमा यो उखानले बहुत धेरै काम गरेको पाइन्छ।

सत्तामा पनि नेकपा, सडकमा पनि नेकपा। नाङ्गो प्रदर्शनका बारेमा नेपाली जनताहरु जानकार नहुने कुरै भएन। सत्तामा रहेको नेकपा (ओली) समूह पछिल्लो समय हिँसा र आक्रमण खेल मैदानमा उत्रेको देखिन्छ। राज्यकोषको ढुकुटी लुटिरहेको ओली समूहरुले विपक्षी र विरोधीहरुलाई भौतिक रुपमै आक्रमण गर्न थालेको छ।

मंगलबार राजधानीको आरआर क्याम्पसमा प्रचण्ड-नेपाल पक्षमाथिको भौतिक आक्रमण र बैतडीमा कांग्रेसको आमसभामाथिको आक्रमण ज्वलन्त उदाहारण हुन्। यि घटनाहरुले ओली पक्ष सत्ता र शक्तिको आडमा अरुलाई ठिक पार्ने मनस्थितिमा उत्रेकाे देखिन्छ।

आन्तरिक लोकतन्त्र र कानूनको बर्खीलापमा उत्रेको ओली समूह विचार र रणनीतिमा असफल छ। ओली समूह सत्ता र शक्तिको आडमा जनसमर्थन बटुलीरहेको देखिन्छ। खैर लोकतन्त्रमा राजनीतिक संस्कारभित्र रहेर राजनीतिक गतिविधि सञ्चालन गर्न पाईन्छ। यो अधिकार वर्तमान व्यवस्थाको उपज पनि हो।

तर, राज्यको ढुकुटीमा रजाईं गरेर विपक्षि र विरोधिहरुलाई हिँसा र आक्रमण शैलीबाट ठिक पार्न तम्सिने कार्य खेद जनक छ। जति भत्सर्ना गरेपनि कम हुन्छ। काम चलाउ सरकारका प्रधानमन्त्री केपी ओलीका समर्थक नेता तथा कार्यकर्ताहरु काेहि पनि व्यक्तिहरुको आवाज सानो छैन। मिजासिलो र नरम छैन। एकदम रुखो छ। अराजकता मिसिएको आवाज सुनिन्छ। दादागिरी शैलीमा हिडेको देखिन्छ। अरु मान्छेलाई  गनेको देखिदैँन।

आफूलाई सगरमाथा र अरुलाई भूई मान्छेका नजरले हेरेको देखिन्छ। आफूमात्रै सर्वेसर्वा र अरुको कुनै अस्तित्व नभएको जस्तो गरिरहेको देखिन्छ। अरुको अस्तित्व स्वीकार्ने ओली पक्षको पाचन प्रणाली कम्जोर छ। माथि भनिएझैं विचरा र सिद्धान्तमा शून्यता छ। विधि, विधान, कानून, नियम ओली समूहका लागि कुन चराको जात? प्रधानमन्त्री केपी ओलीले आफू काम चलाउ घोषणा नगरेर घोषणा गरिएको चुनावको के भर? नयाँ जनादेशका नाममा ओली राज्यको ढुकुटीमा देशभर आमसभा गर्दै हिडिरहेका छन्।

वैशाख १७ र २७ मा चुनाव सम्पन्न हुन्छ भनिरहेका छन्। घोषित चुनाव नहुने, भएपनि पारदर्शीमा धेरैको शंका छ। यो शंकाको सुविधा स्वयं ओलीले नै दिएका हुन्। आगामी वैशाखमा निर्वाचनको मिति तोकेर चर्को भाषण गरिरहेका ओलीले आफूलाई काम चलाउ किन घोषणा नगरेका ? मनोमानी रुपमा संवैधानिक आयोगहरुमा किन आफ्ना गुटका मान्छेहरुलाई भर्ति गरेकाे ? यतिका वर्षसम्म रिक्त रहेका आयोगहरु वैशाखसम्म कुर्न सक्दैनन् थिए? जतिसुकै प्रश्न गरेपनि ओलीको मनसाय गलत छ। उनको मनसाय थप जटिलता र्सिजना गर्ने र राजनीतिक अस्थिरता लम्ब्याउने देखिन्छ। सरकारमा मन्त्री थप्नु र संवैधानिक आयोगहरुमा नियुक्ति गर्नु यसका जिउँदा उदाहरण हुन्।

राज्यमा बसेर ओली समूहले राजकता मच्चाइरहेको छ। अस्थिरता सिर्जना गरिरहेको छ। आजीवन प्रधानमन्त्रीको कुर्चीमा विराजमान भए जसरी ओली अरुमाथि खनिरहेका छन्। ओलीले बह्रमनालसम्म सत्ता लैजाने घोषणा यसअघि नै गरिसकेकाले देशमा संसद विघटनको विषयलाई लिएर थप जटिलता सिर्जना हुन्छ कि ? भन्नेमा जनताहरु चिन्तित छन्।

ओली प्रवृत्ति चुलिएको छ। ओलीको पृष्ट भूमिदेखि एमाले अध्यक्ष हुँदासम्म डन, गुण्डाहरुसँगको संगतबाट सशंकित बनेका नेकपा (प्रचण्ड-नेपाल) पक्षले उनलाई प्रधानमन्त्री बनाउनु नै गल्ति थियो भनेर मौन रुपमा स्वीकार गरेको देखिन्छ। तर, आज आएर गल्ति प्रायचित गर्नुबाहेक यो पक्षसँग विकल्प छैन। आज पनि ओलीको पछि लागेका नेताहरुको छवि धुमिल छ। कहिँ न कहिँ मुछिएका छन्। उदण्डताको मानकमा आत्मरति गरिरहेका मान्छेहरु छन्। तिनै मान्छेहरुले जनतालाई दिग्भ्रमित पारेर मास बटुल्ने ठेक्का लिएको देखिन्छ।

ओली पक्षको दादागिरीबारे गनग थापा

नेपाली कांग्रेसका नेता गगन थापाले बैतडीमा भएको घटनालाई लिएर वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन धेरै टाढा नभएको टिप्पणी गरेका छन्। मंगलबार बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा कांग्रेसका नेता कार्यकर्ताहरुमाथि नेकपा ओली पक्षले आक्रमण गरेको घटनालाई लिएर नेता थापाले यस्तो बताएका हुन्।

बुधबार नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एनपी साउद र डिला संगौला सहभागी भएको नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ। हिंसा कायरहरूको हतियार हो। निषेध र आक्रमणको यो शैली सत्ता शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव धेरै टाढा छैन।’

गगन थापाको विचार र अभिव्यक्ति सुन्दा ओली सरकारको अराजकता अन्त्यका लागि सिंगो कांग्रेस मुखरित छ भन्ने बुझ्न सकिने अवस्था छैन। थापा कांग्रेसभित्रका मामुली नेता मात्रै हुन्। त्यस पार्टीका सभापति शेरबहादुर देउवा निर्वाचनका लागि खुट्टा उचारिहेको देखिन्छ। थापा अदालतका बारेमा बोल्न पाईन्छ भन्दै कांग्रेसलाई लड्डुपार्टी घोषणा गर्छन्। देउवा त्यसको ठिक विपरित अदालतका बारेमा बोल्नु हुन्न भन्दै निर्वाचन आयोगमाथि शंका गर्छन्। चुनवा तालिका किन सार्वजनिक नगरेको भन्दै आक्रोसित बन्छन्।

वर्तमान संविधानको जन्मदाता कांग्रेस हुनुका नाताले भविष्यलाई दृष्टिगत गर्दै संसद पुन:स्थापनाका लागि न्वारनदेखिको बल लगाउनु पर्ने थियो। खैर कांग्रेसले आफ्नो विरासत विर्सियो। कांग्रेसले आफ्ने विरासत विर्सेकै कारण ओली महाराज बन्न पुगेका हुन्। प्रतिपक्षिको भूमिकामा सहि ढंगले कांग्रेस उभिन सकेको भए, ओलीसँग नियुक्तिका लागि भाग नखोजेको भए आजको दिन आउने थिएन कि? आजकै दिनमा पनि कांग्रेसले विचार पुर्याउर्नु पर्नेछ।

प्रदेशका बारेमा तत्काल निर्णय लिन नसक्ने हो भने ओलीले प्रदेशसभासमेत विघटन हान्न सक्छन्! राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसीका अनुसार संसद पुनःस्थापना भए ओलीले शंकटकाल लगाउने र संसद भंग सदर भए रत्तपात हुने छ। यस्तो स्थितिका सामुन्नेमा कांग्रेस कसरी रमिता हेर्न सक्ला? त्यसैले कांग्रेस समयमै सच्चिनुपर्छ। ओलीको वहिगर्मन र संसद पुन:स्थापनाका लागि जोडबल गर्नुपर्छ।

के भएको थियो बैतडीमा ?

बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका थिए। जिल्लाको डिलासैनी गाउँपालिका ३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका थिए।

उक्त समूहले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउँदको पेटमा ढुंगा लागेको थियो। उक्त सभामा नेपाली कांग्रेसकी नेता डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतको सहभागीता रहेको थियो।

आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परी ६ जना घाइते भएका छन्। अहिले घटनास्थल तनावग्रस्त बनेको छ। झडपपछि उक्त स्थलमा प्रहरीको टोली पुगेको छ। प्रहरी टोलीले झडप रोक्ने प्रयास गरेको थियो।

सभापति शाही भन्छन्, ‘अराजकताको अन्त्य आवश्यक’

यता काठमाडौँको रत्न राज्य लक्ष्मी क्याम्पस (आरआर) मा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल समूह र ओली समुहका विद्यार्थीबीच झडप हुँदा चार जना घाइते भएका छन्। मंगलबार बिहान नेकपाका दुई समूहका विद्यार्थीबीच झडप भएको थियो।

सरस्वती पूजाको विषयमा विवाद हुँदा नेकपा ओली समूह र प्रचण्ड-माधव समूहका विद्यार्थीबीच झडप भएको स्ववीयू सभापति तपेन्द्रजंग शाहीले कर्णाली सन्देशलाई जानकारी दिए। उनले भनेका छन्, ‘सत्ता र शक्तिको भरमा सुरु भएको अराजकताको अन्त्य स्वभाविक छ। शान्तिपूर्वक क्रियाकलापहरु गर्न पाइन्छ। आफ्ना कुराहरु स्वस्थ रुपमा राख्न पाईन्छ। तर, भौतिक रुपमै उत्रिने, दादागिरी मच्चाउने काम कसैले पनि गर्नु हुँदैन।’

उक्त झडपमा परि घाइते हुनेमा प्रचण्ड-नेपाल समूहका विद्यार्थी नेता दिपक बस्नेत, दिलिप खड्का, बिशाल रिजाल र मनिस बस्नेत रहेका छन्। कुटपिटमा परी दीपक बस्नेतको दाँत भाँचिएको छ। कुटपिटमा संलग्नलाई कारबाही गर्न प्रहरीमा उजुरी दिएको पीडित पक्षको भनाई छ।