‘वैधता गुमाएको ओली सरकारको पतन धेरै टाढा छैन’



काठमाडाैँ। नेपाली कांग्रेसका नेता गगन थापाले बैतडीमा भएको घटनालाई लिएर वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन धेरै टाढा नभएको टिप्पणी गरेका छन्।

मंगलबार बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा कांग्रेसका नेता कार्यकर्ताहरुमाथि नेकपा (ओली) पक्षले आक्रमण गरेको घटनालाई लिएर नेता थापाले यस्तो बताएका हुन्।

बुधबार नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एनपी साउद र डिला संगौला सहभागी भएको नेपाली कांग्रेसको सभालाई लक्षित गरेर ओली पक्षका कार्यकर्ताले गरेको आक्रमण निन्दनीय छ।

हिंसा कायरहरूको हतियार हो। निषेध र आक्रमणको यो शैली सत्ता(शक्तिको उन्माद र ओलीको हतास मनस्थितिको उपज हो। वैधता र वैधानिकता दुवै गुमाएको ओली सरकारको पतन अव धेरै टाढा छैन।’

के भएको थियो बैतडीमा ?

बैतडीमा नेपाली कांग्रेसको विरोध सभामा नेपाल कम्युनिस्ट पार्टी ओली समूहका कार्यकर्ताले आक्रमण गरेका थिए। जिल्लाको डिलासैनी गाउँपालिका ३ पनसेरामा आयोजित सभामा गाउँपालिकाको केन्द्रको विषयलाई लिएर कार्यकर्ताले ढुंगामुढा गरेका थिए।

उक्त समूहले ढुंगामुढा गर्दा नेपाली कांग्रेसका नेता एनपी साउँदको पेटमा ढुंगा लागेको थियो। उक्त सभामा नेपाली कांग्रेसकी नेता डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतको सहभागीता रहेको थियो।

आक्रमणपछि दुई पक्षबिच दोहोरो ढुङ्गा हानाहानमा परी ६ जना घाइते भएका छन्। अहिले घटनास्थल तनावग्रस्त बनेको छ। झडपपछि उक्त स्थलमा प्रहरीको टोली पुगेको छ। प्रहरी टोलीले झडप रोक्ने प्रयास गरेको थियो।