काठमाडौँ। संसद विघटनपछि चौतर्फी आलोचना झेल्दै आएको ओली सरकारले अर्को जनता मारमा पर्ने निर्णय गरेको छ । पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएको छ। नेपाल आयल नियगले मंगलबार डिजेल, पेट्रोल तथा मट्टितेल र हवाई इन्धनमा समान २-२ रुपैयाँ मूल्यवृद्धि गरेको हो।
यसअघि पछिल्लो पटक माघ २८ गते पनि निगमले डिजेल, पेट्रोल र मट्टितेलमा २ रुपैयाँ मूल्यवृद्धि गरेको थियो। सोही दिन ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ मूल्य वृद्धि भएको थियो। पछिल्लो वृद्धिसँगै काठमाडौं उपत्यकामा अब पेट्रोलको मूल्य ११४ रुपैयाँ र डिजेलरमट्टितेलको मूल्य ९७ रूपैयाँ कायम गरिएको छ।
निगमका अनुसार मंगलबार राति १२ बजेदेखि वृद्धि भएको मूल्य लागू हुनेछ। हवाइ इन्धनमा पनि २ रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि गरिएको छ। हवाइ इन्धनको मूल्य अब ६७ रुपैयाँ प्रतिलिटर पुगेको छ। नयाँ मूल्यसूचीअनुसार पेट्रोलमा ५ रुपैयाँ ८२ पैसा, डिजलमा ४ रुपैयाँ १३ पैसा र ग्यासमा २ सय ८५ रुपैयाँ ८३ पैसा घाटा छ ।
मट्टितेलमा भने निगम नाफामा छ । नयाँ मूल्यसूचीअनुसार निगमलाई १५ दिनमा ६ करोड ७ लाख रुपैयाँ घाटा छ । यसैबीच यता सरकारले कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिन सक्ने निर्णय गरेको छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठक भारतमा बनेको कोभिसिल्ड भाक्सिन खरिद गर्दा अग्रिम भुक्तानी दिने निर्णय गरेको हो । भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयलाई लिएर खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन ।
खरिद ऐन र नियमावलीअनुसार खरिद गर्न लागेको सामानको ८० प्रतिशतमात्रै अग्रिम भुक्तानी दिन सक्ने मात्रै प्रावधान छ । तर सिरम इन्स्टिच्यूटले जति मूल्यको खोप खरिद गर्ने हो त्यसको अग्रिम भुक्तानी भएपछि मात्रै ब्याच नम्बर जारी गर्ने अडान राखेका थियो । यो समस्या समाधान गर्न मन्त्रिपरिषद्ले बाधा अड्काउ फुकाउ गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले जानकारी दिए ।
सरकारले सिरमसँग २० लाख डोज भ्याक्सिन खरिद गर्न लागेको छ । ‘यी खरिद गर्न लागेको भ्याक्सिनको मूल्यको ८० प्रतिशत राष्ट्र बैंकमार्फत अग्रिम पठाउँछौं, त्यसपछि कम्पनीले ब्याच नम्बर हाल्न सुरु गर्छ,’ उनले भने, ‘सामान पठाउनुअघि २० प्रतिशत रकम पनि भुक्तानी गरिसक्छौं’
मन्त्रिपरिषद्को यो निर्णयले तत्काल खोप खरिद गरेर ल्याउने बाटो अघि बढेको उनले बताए । मन्त्री त्रिपाठीले भारतसँग सहुलियत दरमा खोप खरिद गर्न लागिएको पनि प्रस्ट पारे ।