काठमाडौँ। राष्ट्रिय समाचार समिति (रासस) को ६०औँ वार्षिकोत्सवको अवसरमा वर्षभरि समाचार, आलेख र फोटोमा योगदान पु¥याउने उत्कृष्ट स्ट्रिङ्गर, आलेख लेखक र फोटो पत्रकार गरी १७ लाई पुरस्कृत गरिने भएको छ।
पुरस्कार छनोट समितिको सिफारिसमा राससले वर्षभरि सम्पादन गरिएको कामका आधारमा राससकर्मीलाई सम्मान गर्ने निर्णय गरेको हो। राससका अनुसार प्रदेश नं १ बाट केदार मगर (खोटाङ्), प्रदेश नं २ बाट गोपाल बराल ‘महोत्तरी’, वाग्मती प्रदेशबाट अच्युत रेग्मी (केन्द्रीय कार्यालय) काठमाडौँलाई पुरस्कृत हुनुहुनेछ।
यस्तै गण्डकी प्रदेशबाट कृष्ण दवाडी (कास्की) र खेमराज गौतम (गलकोट बागलुङ), लुम्बिनी प्रदेशबाट भेषराज बस्नेत (राँझा बाँके) र दीपक बोहोरा (तुलसीपुर दाङ) पुरस्कृत हुनुहुनेछ। कर्णाली प्रदेशशबाट दाने बोहोरा (हुम्ला) र सुदूरपश्चिम प्रदेशबाट दुर्गा देवकोटा (टीकापुर कैलाली) हुनुहुन्छ। यस वर्षको उत्कृष्ट आलेखको पुरस्कार खलङ्गा जुम्लाका विजय रावतले प्राप्त गर्नुभएको छ। उहाँको ‘जुम्लाका कालीमार्सी धान रोपाइँको चटारो’ शीर्षकको आलेख पुरस्कृत भएको हो।
यस्तै फोटोतर्फ फोटो पत्रकार प्रदीपराज वन्त (काठमाडौँ) सम्मानित हुनुहुनेछ। कोभिड–१९ सङ्क्रमणको प्रतिकूल समयमा सक्रिय भई निरन्तर खटिने फोटो पत्रकार तथा समाचारदातालाई समेत वार्षिकोत्सवको अवसरमा सम्मान गर्न लागिएको छ। त्यसमा रोशन सापकोटा र चन्द्रकला क्षत्री (काठमाडौँ), राधिका कँडेल (पोखरा), चन्द्रकला भण्डारी (चन्द्रगढी झापा), हरिकुमार राई (उदयपुर) र तारानाथ आचार्य (बलेवा बागलुङ) हुनुहुन्छ।
वार्षिकोत्सवको अवसरमा रासस भीमदत्तनगर, कञ्चनपुर कार्यालय भवन निर्माणका लागि सुदूरपश्चिम प्रदेश सरकारबाट आवश्यक सहयोग जुटाउन सफल रासस भीमदत्त नगर कार्यालयका प्रमुख शेरबहादुर सिंहलाई सम्मान गरिने भएको छ। प्रदेश सरकारको रु ३५ लाखको लागत इष्टिमेटसहित भवन निर्माणको काम शुरु भएको छ। यही फागुन ७ गते राससले आफ्नो स्थापनाको ६० औँ स्थापना दिवस मनाउने कार्यक्रम तय भएको छ।