प्रचण्ड-नेपाल समूहका नगरप्रमुख ओली समूहमा



काठमाडौँ। नेकपा प्रचण्ड-नेपाल समूहमा रहेका कालिकोट रास्कोट नगरपालिकाका प्रमुख काशीचन्द्र बराल प्रधानमन्त्री केपी शर्मा ओली समूहमा लागेका छन्।

तत्कालीन नेकपा माओवादी केन्द्रबाट नगरप्रमुखमा विजयी भएका बराल नेकपाको ओली समूहमा लागेका हुन्। प्रतिनिधिसभा विघटनपछि प्रचण्ड-नेपाल समूहमा उभिएका बरालले आफ्नो कित्ता परिवर्तन गर्दै नेकपाको ओली समूहमा लागेका हुन्।

प्रचण्ड-नेपाल पक्षमा रहेका नगर प्रमुख बराल मुलधारमा फर्किएको ओली समूहका केन्द्रीय सदस्य नगेन्द्र शाहीले जानकारी दिए। ‘उहाँ पार्टीको मुलधारमा फर्किनुभएको छ,’ उनले भने, ‘अरु साथीहरु पनि फर्किने तयारीमा हुनुहुन्छ। कालिकोटका अधिकांश स्थानीय तहका जनप्रतिनीधि हाम्रो पक्षमा आउने तयारी गरेका छन्।’

नगर प्रमुख बरालले ओली समूहमा लागेको स्वीकार गरेका छन्। ‘मैले टिम बदलेको छु,’ उनले भने,‘घोषणा गर्न बाँकी छ।’ कालिकोटका ९ वटा स्थानीय तहमध्ये ओली पक्षमा खाँडाचक्र नगरपालिका प्रमुख जसीप्रसाद पाण्डे र महावै गाउँपालिका उपाध्यक्ष मनराज शाही खुलेर लागेका थिए।