काठमाडौँ। सेयर बजारले (मंगलबार) रेकर्ड ब्रेक गर्दै इतिहासकै उच्च विन्दुमा आइपुगेको छ।
फागुन ४ गते बजारले २६ सय विन्दु पार गर्दै रेकर्ड कायम गरेको हो। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा लचकता अपनाएपछि सेयर बजार बढ्न थालेको हो।
आज १५.५० अंकले बढेको बजार २६०१.५१ अंकमा आएर अडिएको छ। यस दिन १० अर्ब ३ करोड ५४ लाख ५४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। बजारले यतिहास रचेको दिनमा अधिंकाश समूह भने राताम्मे देखिएका छन्। बैंकिङ, विकास बैंक, म्यूचुअल फण्ड र अन्य समुह बाहेकका बाँकी समूहमा गिरावट छ।
चन्द्रागिरी हिल्सको सकारात्मक सर्किट लाग्ने गरी बजार बढेको छ। सबैभन्दा बढी कमाउनेमा चन्द्रागिरी हिल्स नै देखिएको छ। यता दोस्रो धेरै कमाउनेमा मिर्मिरे लघुवित्त विकास बैंक रहेको छ। यसको सेयर मूल्य आज प्रतिकित्ता १६०३ रुपैयाँ रहेको छ। तेस्रोमा नेपाल इन्फ्रास्टक्चर बैंक रहेको छ।
यस्तै सबैभन्दा बढी सेयर कारोबार हुनेमा नबिल बैंक देखिएको छ। यसको ५२ करोड बराबरको सेयर कारोबार भएको छ। ग्लोबल आईएमई बैंक दोस्रो बढी कारोबार हुनेमा देखिएको छ भने तेस्रोमा नेपाल बैंक देखिएको छ। पछिल्ला दिनमा सेयर बजार प्रति आमलगानीकर्ताको चासो बढ्न थालेसँगै बजारको वृद्धि यात्राले निरन्तरता पाएको हो।