सुर्खेत। नेकपा प्रचण्ड–माधव पक्षका नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले आगामी वैशाखमा निर्वाचन नहुने ठोकुवा गरेका छन्।
मंगलबार प्रेस संगठन नेपाल, सल्यानले खलंगामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता शर्माले नेकपाको विवादलाई थाती राखेर निर्वाचन हुन नसक्ने बताएका हुन्।
नेता शर्माले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछिको नेकपाको विवाद निर्वाचन आयोगमा विचाराधीन अवस्थामा रहेकाले यस्तो अवस्थामा मध्यावधिक निर्वाचन हुन सक्दैन।’
उनले अगाडि भनेका छन्, ‘अहिले नेकपा भित्रको विवाद उत्कर्षमा पुगेको छ’ उनले भने, ‘पार्टीको आधिकारिकताको लागि विवाद निर्वाचन आयोगमा पुगेको छ, यदि यस्तो अवस्थामा निर्वाचन गर्न खोजियो भने त्यसको हिसाब–किताब त जनताले गरिहाल्छन् नि।अहिलेको पार्टी विभाजन पद, प्रतिष्ठाको लागि होइन। राजनीतिक स्थायित्व र समृद्ध नेपाल निर्माणको लागि हो।’