‘देउवाले अदालतको सम्मान होइन, ज्योतिषीको आशा गर्नु भयाे’



काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (प्रचण्ड-नेपाल) पक्षका युवा नेता तथा केन्द्रीय सदस्य विष्णु रिजालले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाका अभिव्यक्तिबारे मुख खोलेका छन्।

नेपाली कांग्रेसलाई संयुक्त आन्दोलनको निम्तो बाडिरहेको (प्रचण्ड-नेपाल) पक्षले देउवाका बारेमा खासै बोलेको सुनिदैन थियो। तर, पछिल्लो समय देउवा कन्भिन्स हुने नदेखेपछि उक्त पक्षले विस्तारै आफ्ना कुराहरु राख्न सुरु गरेको देखिन्छ।

नेता जिलालले देउवाले ‘अदालतमा मुद्दा चलिरहेकाले बोल्न मिल्दैन’ भन्ने कर्तमा सत्यता नभएको तर्फ इंगित गर्दै ज्योतिषीको आशा गरिरहेको टिप्पणी गरेका छन्।

मंगलबार सामाजिक संञ्जाल फेशबुकमा लेखेका छन्, ‘राजनीतिक दलले अदालतमा राजनीति अड्किँदा नबोल्ने हो भने सहज बेलामा त बोल्नैपर्दैन। अहिले ‘अदालतमा मुद्दा चलिरहेकाले बोल्न मिल्दैन’ भन्नुहुने शेरबहादुर देउवा त्यही नेता हुनुहुन्छ, जसले विनाकारण प्रधानन्यायाधीश सुशीला कार्कीमाथि छापामार शैलीमा संसदमा महाभियोग प्रस्ताव दर्ता गराउनुभएको थियो र अदालतले अवैध घोषणा गरेको थियो।’ उनले अगाडि लेखेका छन्, ‘प्रस्टै छ-शेरबहादुर देउवाले अदालतको सम्मान होइन, ज्योतिषीको आशा गरिरहनुभएको छ।’

‘निर्वाचन आयोगमाथि शंका गर्नुपर्ने बेला भयो’

देउवाले सोमबारको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै निर्वाचन आयोगले चुनावी तालिका सार्वजनिक नगरेको भन्दै आक्रोश पोखेका थिए। केही समय अघिको कार्यक्रममा अदालतले नारा जुलुस सुनेर फैसला नगर्ने भन्दै अदालतको सम्मान गर्न आग्रह गरेका थिए।

कांग्रेस रुपन्देहीले सोमबार भैरहवामा गरेको विरोधसभालाई सम्बोधन गर्दै सभापति देउवाले निर्वाचन आयोगले निर्वाचनको प्रक्रिया सुरु नगरेकोप्रति आक्रोश पोख्दै उक्त टिप्पणी गरेका हुन्। उनले भने, ‘अब निर्वाचन आयोगमाथि नै शंका गर्नुपर्ने बेला भइसक्यो। ‘सरकारले वैशाखमै निर्वाचन गर्छु भनेको छ। तर, आयोगले निर्वाचनका कार्यक्रम सार्वजनिक नगरेर बदमासी गरिरहेको छ,’ उनले आक्रोश पोख्दै भने, ‘निर्वाचन आयोगले चुनावको प्रक्रिया नै सुरु गरेको छैन। किन आयोगले चुनाव गर्छु भन्दैन?’

सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाखमै चुनाव गर्छु भने पनि निर्वाचन आयोगले निर्वाचनका कार्यक्रम अघि बढाउन नसकेको बताए। उनले भने, ‘निर्वाचन आयोग शंका गर्नुपर्ने बेला भइसकेको छ। आयोगले किन निर्वाचन कार्यतालिका प्रकाशित गर्दैनरु चुनावको कार्यक्रम किन दिन सक्दैन? निर्वाचन आयोगको काम निर्वाचन गराउने हो। आयोगले चुनाव गराउँछु भन्नुपर्छ।’

सभापति देउवाले निर्वाचन आयोग अदालतको निर्णय पर्खेर बस्न नहुने पनि बताए। ‘अदालतबाट चुनाव नगराउने निर्णय आए निर्वाचन कार्यक्रम बन्द गरे भइहाल्यो नि,’ उनले भने, ‘निर्वाचन आयोगको काम चुनाव गराउने हो। त्यसैले संसद् विघटन भएको ६ महिनाभित्र चुनाव गराउँछु भन्नुपर्छ। तर, आयोग म चुनाव गराउँछु, तयार छु भनेर बोलेको छैन।’

उनले निर्वाचन आयोग निर्वाचनबारे नबोलेकोमा पनि आक्रोश पोखे। ‘म चुनाव गराउन तयार छु भनेर किन निर्वाचन आयोग बोलिरहेको छैन,’ देउवाले भने, ‘निर्वाचन आयोग किन बोल्दैनरु ’उनले चुनाव चिन्ह नेकपाको कुन समूहलाई दिने हो त्यो निर्णय पनि आयोगले छिट्टै गर्नुपर्ने बताए। ‘चुनाव चिन्ह कसैलाई दिए भाइहाल्छ नि,’ उनले भने, ‘एउटा सूर्य चिन्ह छ, दुईमध्ये एक समूहलाई दिए हुन्छ। यसबारे आयोगले निर्णय गर्नु पर्‍यो।’

जुलुस लगाएर अदालतले निर्णय गर्दैन

सभापति देउवाले जुलुस हेरेर अदालतले निर्णय नगर्ने पनि बताए। ‘जुलुस लगाएर अदालतले निर्णय गर्दैन। जुलुस हेरेर अदालतले निर्णय गर्ने हो भने किन चाहियो अदालत रु,’ देउवाले भने, ‘त्यसैले अदालतले संसद विघटनको निर्णय बदर गर्छ भने पनि ठीक छ, चुनाव गर भन्यो भने पनि हामीलाई ठीक छ। अदालतको निर्णयपछि हामीले हाम्रो निर्णय गरौंला।’

उनले सर्वोच्च अदालतभन्दा ठूलो अदालत भनेकै जनता भएको बताए। ‘सर्वोच्चभन्दा पनि ठूलो अदालत भनेको एउटै हो जनता। जनताभन्दा ठूलो अदालत कहीँ पनि छैन,’ उनले भने। अदालतमा विचाराधीन मुद्दामा कांग्रेसले यस्तो गर, उस्तो गर भन्न नमिल्ने बताए। ‘अदालतलमा विचाराधीन मुद्दामा यस्तो गर, उस्तो गर भन्न मिल्दैन। त्यसैले अदालतको निर्णय पर्खौंं, अदालतलाई निर्णय गर्न दिऔं। त्यसपछि हामीले निर्णय गरौंला,’ देउवाले भने।