‘ओलीले समृद्ध नेपाल होइन, अस्तव्यस्त नेपाल बनाए’



काठमाडाैँ। नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गगनकुमार थापाले प्रधानमन्त्रीको दुस्साहसका कारण ‘समृद्ध नेपाल, सुखी नेपाली’ नभई ‘सन्की प्रधानमन्त्री, अस्तव्यस्त नेपाल’ बनेको टिप्पणी गरेका छन्।

सोमबार चितवनमा पार्टीले गरेको विरोध सभालाई सम्बोधन गर्दै थापाले सन्की प्रधानमन्त्रीका कारण ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारा असफल भएको दाबी गरे।

‘यो तीन वर्षको अवधिमा ‘समृद्ध नेपाल, सुखी नेपालीुको नारा’ ‘सन्की प्रधानमन्त्री, अस्तव्यस्त नेपाल’मा परिणत भयो,’ उनले भने, ‘जनतालाई दिएको नारा असफल भएपछि प्रधानमन्त्री पशुपतिनाथ र राम मन्दिर भन्दै हिँड्नु भएको छ।’ उनले प्रधानमन्त्रीले संविधानअनुरूपको शासन नभई सेटिङको शासन गर्न चाहेको आरोप लगाए।

राष्ट्रपतिसँग जस्तै सेटिङ अदालतसँग पनि गर्न सकिन्छ कि भनेर प्रधानमन्त्रीले प्रयास गरिरहेको भन्दै उनले असफल हुने दाबी गरे। ‘अब धेरै दिन छैन संसद पुनर्स्थापना हुन, उहाँले ठूलो खर्च गरेर दमकमा भ्यू टावर बनाउनु भएको छ विचरण गर्न त्यहीँ पठाउने हो,’थापाले भने, ‘मेरो अदालत प्रधानमन्त्रीको धम्कीसँग नडराओस्, मेरो, प्रचण्डको र केपी ओलीको सभा नहेरोस्, संविधानको किताब हेरेर हिम्मत गरोस्, हामीले भनेको यत्तिमात्रै हो।’

प्रधानमन्त्रीले मेरो सनकलाई अदालतले सदर गर्छ मैले सब मिलाएको छु भन्ने ठानेको भन्दै थपे, ‘अदालतले देखाइदियोस् तपाईंले राष्ट्रपति मिलाएजस्तो नेपालको अदालत मिलाउन सम्भव छैन भनेर।’

प्रधानमन्त्रीले विगतमा महाराजाहरू सवारीका क्रममा भीड देखेर दंग परेजस्तै मख्ख परेको भन्दै नेता थापाले प्रधानमन्त्री सभा केबल हाँस्य कलाकार भनेर सुन्न आएको बताए। ‘मान्छेहरू मेरो जय जयकार गर्न आए भनेर मख्ख नपर्नुहोला,’ उनले भने, ‘जनता तपाईंलाई केवल हाँस्य कलाकार भनेर सुन्न आएका छन्।’

उनले तत्काल लाभ हुन्छ भनेर संसद विघटनलाई स्वीकार्दा संविधानभित्र नलेखिएका धेरै कुरा हुँदै जाने र संविधान भत्कने दाबी गर्दै नेपाली कांग्रेसले त्यो हुन नदिने बताए।