‘शक्ति प्रदर्शनको नाममा ओलीले राज्यको ढुकुटी रित्याउन थाले’



काठमाडौँ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले शक्ति प्रदर्शनको नाममा प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यको ढुकुटीको दुरुपयोग गरिरहेको आरोप लगाएका छन्।

अध्यक्ष केसीद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘ओलीले स्वच्छन्द तरिकाले विभिन्न संवैधानिक तथा राजनीतिक नियुक्त गर्दै गइरहेका छन्। उनलाई आफ्नो असंवैधानिक, अलोकतान्त्रिक र प्रतिगामी कदमप्रति गल्तीको बोध भएको छैन। झन् उनले आफ्नो कदमलाई सही ठहर्‍याउन र आफ्नो पार्टीबाट फुटेकाहरूलाई चुनौती दिन उनकै भाषामा शक्ति प्रदर्शन गर्न राष्ट्रिय कोष रित्याइरहेका छन्।’

राजावादी बाहेक देशका सबै राजनीतिक दल, संगठन, संघ, संस्था, पत्रकार, नागरिक समाज आदिबाट ओलीको संसद विघटन र प्रतिगमनको खतराको विरोधमा संघर्ष भइरहेको केसीले विज्ञप्तिमा उल्लेख गरेका छन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका अध्यक्ष केसीले प्रधानमन्त्री ओली सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक निकायलाई दवाव दिन लागेको बताएका छन्।

‘सर्वोच्च अदालत र निर्वाचन आयोग जस्ता संवैधानिक र स्वायक्त निकायहरूलाई अनुचित तरिकाले प्रभाव पर्न प्रयत्न गरेका छन्’ केसीले भनेका छन्, ‘केही दिन अघि निर्वाचन आयोगमा राज्यको कार्यकारी प्रमुख आफैं गएर आयोगलाई दबाब दिएका छन्।’

प्रधानमन्त्री ओलीले चालेको प्रतिगामी कदमविरुद्ध अझै एकीकृत र सशक्त आन्दोलन आवश्यक रहेको भन्दै उनले संयुक्त आन्दोलनको आह्वान गरेका छन्। नेपाली कांग्रेस, नेकपा प्रचण्ड–माधव पक्ष, जनता समाजवादी पार्टी, विभिन्न संगठन, संस्था, नागरिक समाज लगायतले संयुक्त कार्यक्रम गर्नुपर्नेमा उनको जोड छ।