कर्णाली सरकारका तीन वर्ष: ७ सय ८७ किमि नयाँ बाटो निर्माण



सुर्खेत। कर्णाली प्रदेश सरकारले आफ्नो स्थापनाको तेस्रो वार्षिकोत्सव मनाएको छ।

सोमबार प्रदेश सरकारले तीन वर्षमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेको छ। तीन वर्षको अवधिभमा प्रदेशभरि ७ सय ८७ किलोमिटर नयाँ बाटो निर्माण गर्नुका साथै १६७ किलोमिटर सडक ग्राभेल गरिएको र ८ किलोमिटर सडक कालोपत्रे भएको जनाएको छ।

प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनी र सभामुख राजबहादुर शाहीले सोमबार सार्वजनिक गरेको तीन वर्षे उपलब्धिहरूको सूचिमा २०७४ फागुन तीन गतेदेखि २०७७ फागुन दुइ गतेसम्म भए गरेका प्रगतिहरु समावेश छन्।

त्यस्तै प्रगति विवरणमा पाँच वटा सडक पुल, १२ वटा झोलुंगे पुल, जनता आवास कार्यक्रममार्फत १३ सय ३५ घर बनाइएको उल्लेख छ। ४२ हजार ४५४ थप जनसंख्यामा खानेपानी सेवा उपलब्ध गराइएको र ४२ सय हेक्टर जमिनमा बाह्रै महिना सिँचाइको व्यवस्थाका लागि काम गरिएको बताइएको छ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका अनुसार प्रदेश अस्पताललाई ३ सय शय्यामा स्तरोन्नती गरिएको र जिल्ला अस्पताललाई ५० शय्याको पूर्वाधार विकास तथा जनशक्ति व्यवथापन गरिएको छ। त्यस्तै बैंक खाता छोरीको सुरक्षा जीवनभरिको भन्ने नाराका साथ ६ हजार पाँच सयभन्दा बढी छोरीको बैंक खाता खोलिएको छ। यस्तै छोरी बुहारी, दलित, जेहेन्दार, द्धन्द्धपीडित तथा शहिद परिवारका सन्ततिहरूलाई उच्च प्राविधिक शिक्षा तथा अन्य प्राविधिक शिक्षा अध्ययनकालागि छात्रवृत्ति प्रदान गरिएको उनको भनाइ छ।