‘संसद पुन:स्थापनाले निकास दिँदैन’



काठमाडौँ। प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले असफल संसदीय व्यवस्थाबाट परिवर्तनको आकांक्षा पुरा नहुने बताएका छन्।

फागुन १ गते २६ औँ जनयुद्ध दिवसको अवसरमा शुभकामना दिँदै विप्लवले जनयुद्ध आम जनताको चाहना र आवश्यकतासँग जोडिएको बताए। तर, अहिले प्रतिक्रियावादीहरूको मिलेमतोमा जनयुद्धका उपलब्धिहरू तहसनहस पारिएको उनले भनाई छ। असफल दलाल पूँजिवादीको संसदीय व्यवस्थाले जनआकांक्षा पुरा नहुने उनले दाबी गरे। संसद पुनर्स्थापनाले दिने निकास जनअपेक्षित नहुने पनि उनको जिकिर छ।

‘यसको अग्रगामी निकास रणनैतिक संयुक्त मोर्चाले संश्लेषण गरेको वैकल्पिक संयुक्त सरकार हुन सक्छ,’ वक्तव्यमा भनिएको छ, ‘जसले सार्वभौम शक्ति सम्पन्न जनताको जनमतद्वारा वैज्ञानिक समाजवाद या पूँजिवादको फैसला गर्नेमा नेतृत्व दिन सक्नेछ।’

विप्लवले दशकौं देखिको परिवर्तनकारी जनआकांक्षालाई प्रतिनिधित्व गर्न सक्ने शक्तिका रुपमा विका गर्न रणनैतिक संयुक्त मोर्चा अगाडि आएको बताए। उनले राजनीतिक विकल्पका पक्षमा गोलबन्द हुन परिवर्तनकारी शक्तिहरूमा आह्वान पनि गरे।