‘चीनियाँ चासोलाई भारतले होसियारपूर्वक हेर्नुपर्छ’



काठमाडौं। भारतका पूर्व विदेश सचिव श्याम शरणले नेपालसँग चीनले कम्युनिष्ट पार्टीको परिवारसँग जस्तो गरी व्यवहार गरेको बताएका छन्। नेपालका लागि पूर्व भारतीय राजदूतसमेत रहेका शरणले नेपालमा बढ्दो चिनियाँ कम्युनिष्ट पार्टीको गतिविधिलाई भारतले होसियारीपूर्वक हेर्नुपर्नेसमेत बताए।

भारतको दि प्रिन्ट अनलाइनसँगको एक भिडियो अन्तर्वार्तामा श्याम शरणले भने,‘नेपालको राजनीतिक घट्नाक्रममा हस्तक्षेप गर्न चीनले नेपालमा पार्टीको डेलिगेसन पठायो। उनीहरुले नेपालसँग कम्युनिष्ट पार्टीको परिवारसँग डिल गरेजस्तो कम्युनिष्ट पार्टीको लियाजन विभागबाट एक टिम नेपाल पठाए।’

तर यस विषयमा कसैको ध्यान नपुगेको उनको भनाइ थियो। शरणले चीनले नेपालसँग राज्य–राज्यको बीचमाजस्तो व्यवहार गर्नुपर्ने बताए। उनले अगाडि भनेका छन,‘पहिलोपटक स्पष्ट रुपमा हामीले के देख्यौं भने चीनले केही हदसम्म यसरी प्रोजेक्ट गर्न खोज्यो कि सम्बन्ध पार्टी र पार्टीको बीचमा रहेको छ जुन वास्तवमा राम्रो संकेत होइन।’

शरणले अन्य मुलुकसँग राज्य– राज्य तहमा सामान्य सम्बन्ध कायम राख्न चाहने चीनले नेपालमा त्यो भन्दा फरक सम्बन्ध रहेको देखाउन खोजेको र त्यसलाई भारतले नजिकबाट हेर्नुपर्ने समेत बताए।

उनले नेपालको पछिल्लो राजनीतिक अवस्था एकदमै तरल रहेको र भारतको नीति केही दुविधामा रहेको समेत बताए। शरणले नेपालमा पछिल्लो समय राजतन्त्रवादी र हिन्दुवादीहरुले आफ्नो गतिविधि बढाएको समेत उल्लेख गरे। उनले भनेका छन्,‘राजतन्त्र पक्षधरको भावनामा पछिल्लो समयमा केही वृद्धि भएको छ , केही समय अगाडि राजतन्त्र फर्काउन काठमाडौंमा ठूला प्रर्दशनहरु भएका थिए।’