काठमाडौँ। प्रदर्शन गर्न नपाइने आदेशको अवज्ञा गर्दै म्यान्मारमा हजारौँ मानिसले सैन्य कूविरुद्ध प्रदर्शन गर्दै आएका छन्।
‘मैले आफ्नो जीवनमा एकदमै नराम्रो हुनसक्ने देखिसकेको छु।’ यी शब्द म्यान्मारमा सैन्य कू भएयता सुरुदेखि सडकमा भइरहेका प्रदर्शनहरूको नेतृत्व गर्दै आएका तेजार सानका हुन्। गत नोभेम्बर महिनामा सम्पन्न निर्वाचनमा धाँधली भएको भन्दै फेब्रुअरी १ तारिखमा म्यान्मारमा सेनाले देशको शासन आफ्नो हातमा लियो।
निर्वाचनमा नेत्री आङ सान सू चीको न्याश्नल लीग फर डेमोक्र्यासी (एनएलडी) ले ठूलो बहुमतका साथ जित हासिल गरेको थियो।सैन्य कूसँगै सू ची नजरबन्दमा छिन् भने (एनएलडीका) अरू नेता पनि सेनाको नियन्त्रणमा छन्।
राजधानी नेपिद्अमा प्रहरीको गोली लागेर घाइते भएकी एक महिलाको गम्भीर अवस्थामा उपचार भइरहेको छ। अहिलेसम्म मानिसहरू गम्भीर घाइते भएका विवरण आएका छन्। कसैको मृत्यु भएको खबर छैन।