सुर्खेत। रुकुम (पश्चिम) मा पूर्व गृहमन्त्री तथा नेकपा (प्रचण्ड-नेपाल) पक्षका नेता जनार्दन शर्माको उपस्थितिमा २६औं जनयुद्ध दिवस मनाइएको छ।
तत्कालीन माओवादी जनयुद्धका डेपुटी कमाण्डरसमेत रहेका प्रभाकरको उपस्थितिमा विभिन्न कार्यक्रम गरी जनयुद्ध दिवस मनाइएको हो। जसअनुसार रुकुमको सहिद स्मृति पार्कमा सहिदहरुको सालिकमा माल्यार्पण गरिएको छ।
कार्यक्रममा शुभकामना आदानप्रदान साथै चौथो राष्ट्रिय गुरिल्ला म्याराथुन दौडको आयोजना गरियो। यस्तै सानीभेरीमै जनयुद्ध दिवसको अवसरमा आर्थिक समृद्धि तथा सामाजिक रुपान्तरणका लागि चेतनामुलक गीत विमोचन, मयूर नाच जस्ता कार्यक्रम पनि गरियो।
प्रभाकरले सामान्तवाद विरुद्धको ऐतिहासिक जनयुद्धको २६औं वार्षिक उत्सवको अवसरमा सहिदहरुमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता योद्धाहरु र घाइते योद्धाहरु प्रति उच्च सम्मान प्रकट गरेका छन्।
उनले सम्पूर्ण सहिद परिवार, नेतृत्व, जनमुक्ति सेना, आम जनसमुदाय सबैमा हार्दिक शुभकामना पनि व्यक्त गरेका छन्। जनयुद्ध र जनआन्दोलनको बलामा प्राप्त ऐतिहासिक प्रवाहलाई समाप्त पार्न प्रतिगामी तत्वहरु अलबलाएको भन्दै प्रभाकरले तिनलाई परास्त गर्दै उपलब्धी रक्षाको लागि जुट्न आह्वान समेत गरेका छन् ।