प्रचण्ड-नेपाल पक्षले सुर्खेतमा मनायाे २६औं जनयुद्ध दिवस



सुर्खेत। नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) पक्षले सुर्खेतमा शनिबार दिप प्रज्वलन गरेर २६औं जनयुद्ध दिवस मनाएको छ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (प्रचण्ड-नेपाल) पक्ष सुर्खेतका इन्चार्ज नरबहादुर बिष्ट, सह-इन्चार्ज सुदिप मल्ल, कर्णाली प्रदेश सरकारकी मुख्य सचेतक सीता नेपाली, नेताहरु कृष्ण जिसी, मोहन बडुवालको उपस्थिति रहेको थियो।

त्यस्तै अनेरास्ववियूका नेता अमरजंग शाही, र्तिशना हमाल, महेश जिसी, मोतिराम रम्तेल, राजेन्द्र बुढा, अमर चन्द, पदम बन, कमल विसीलगायतको उपस्थितिमा प्रदेशको राजधानी वीरेन्द्रनगरको वीरेन्द्र चौकमा २६औं जनयुद्ध दिवस मनाइएको हो।

अनेरास्ववियूकी नेता हमालका अनुसार कार्यक्रममा नेताहरुले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशको विकास र समृद्धिको यात्रालाई अगाडि बढाउनुपर्नेमा जोड दिएका छन्।

अनेरास्ववियूकी नेता हमालका अनुसार इन्चार्ज बिष्टले दिप प्रज्वलन गरेका थिए भने सह-इन्चार्ज मल्ल र नेता बडुवालले तत्कालिन जनयुद्ध र वर्तमान राजनीतिक अवस्थाका बारेमा आफ्ना कुराहरु राखेका छन्।

कार्यक्रममा नेताहरुले जनयुद्धबाट प्राप्त उपलब्धिको रक्षा गर्दै देशको विकास र समृद्धिको यात्रालाई अगाडि बढाउनु पर्नेमा जोड दिएका छन्। साथै उनीहरुले जनयुद्धका क्रममा शहादत प्राप्त गर्ने शहिद, वेपत्ता तथा अपाङ्गता बनेका योद्धाहरुको स्मरणसँगै राज्यद्वारा उच्च मुल्याङ्कन गरिनुपर्ने बताए।