परिवर्तनलाई मास्नेलाई छोडिन्न: अध्यक्ष प्रचण्ड



काठमाडौँ। नेकपा प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीलगायतले लाखौं जनताको बलिदानीपछि प्राप्त संविधान कुल्चन खोजेको बताएका छन्।

साथै उनले कसैले संविधान कुल्चने र परिवर्तनलाई मास्ने सोचेको छ भने त्यो भ्रमबाहेक अरु केही नहुने बताए। उनले प्रधानमन्त्री ओलीलाई त्यस्तो भ्रमबाट चाँडै निस्कदा नै राम्रो हुने सुझाव पनि दिएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले जनताका तर्फबाट पहिलो पटक जारी भएको संविधानमाथि घात गर्नेलाई जनताले त्यसै नछाड्ने चेतावनीसमेत दिए।

शनिबार जनयुद्ध दिवसका अवसरमा पेरिसडाँडा कोटेश्वरमा आयोजितसहिद स्मृति तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले हजारौँ सहिदहरुको बलिदानीबाट प्राप्त उपलव्धि मानिएको संविधानको घात गरेको र सहिदहरुको सपना कुल्चने प्रयास भएको भन्दै इतिहासका महान ती सहिदहरु कहिल्यै मर्न नसक्ने पनि बताए।

‘केपी ओलीहरुले हजारौँ सहिदहरुले बगाएको रगतबाट बनेको संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रलाई म किच्न सक्छु भन्ने सोचेका छन् भने उनी सारै ठुलो भ्रममा छन्। उनी छिट्टै भ्रममुक्त हुँदा राम्रो हुन्छ भन्ने सुझाव राख्न चाहान्छु’, प्रचण्डले भने, ‘नत्र भने हजारौ कंकालहरु चिहानबाट बाहिर निस्कन्छन् र परिवर्तनलाई रोक्न खोज्नेकाविरुद्ध धावा बोल्नेछन्।’

उनले ओलीलाई दक्षिणपन्थी र प्रतिक्रान्तिको कित्तामा तुलना गर्दै यस्तो दुस्प्रयास भएको पनि दावी गरे। उनले आन्दोलन र त्यही आन्दोलनको जगमा प्राप्त उपलव्धि जोगाऔं भन्ने नयाँ प्रतिवद्धता आवश्यक रहेको पनि बताए।

उपलव्धिलाई गुम्न दिनेछैनौँ, फेरि पनि बलिदान दिन तयार छौँ भनेर संकल्प गर्ने दिन आवश्यक छ’, प्रचण्डको भनाइ छ। उपलव्धिहरुलाई जोगाउन फेरि सवै नेपाली एकजुट भएर संघर्षमा उत्रने संकल्प गर्नुपर्ने आवश्यकता रहेको प्रचण्डको भनाइ छ।