संसद विघटन र महिला हिँसाविरुद्ध काठमाडौँमा प्रदर्शन



काठमाडौँ। बलात्कार तथा संसद विघटनविरुद्ध काठमाडौँमा विशाल महिला मार्च गरिएको छ।

शुक्रबार संघीय राजधानी काठमाडौँको बसन्तपुरबाट सुरु भएको आन्दोलन रत्नपार्कहुँदै सिंहदरबार अगाडि भद्रकालीमा कोर्णसभामा परिणत भएको थियो। विरोध र्‍यालीमा सरकारले महिला हिंसा रोक्न नसकेको, बलात्कार र हत्याका घटनाहरू नरोकिएको भन्दै प्रदर्शनकारीले आक्रोश पोखेका छन्।

उनीहरूले प्रतिकात्मक रूपमा शवयात्रासमेत गरेका छन्। जसमा एकोहोरो शंख बजाउँदै प्रतिगमनको विरोध गरिएको थियो। टाउकोमा सेतो कपडा बेरेर सेतो धोतीलगाएका केही युवाहरूले प्रतिकात्मक शवयात्रा गरेका थिए। ‘प्रतिगमनविरुद्ध बृहत् नागरिक आन्दोलन’ नामको ब्यानरमा विरोध प्रदर्शनमा उत्रिएका उनीहरूले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गरेका छन्।

विरोध प्रदर्शनका क्रममा हरेक दिन प्रतिगमन भएको भन्दै हिंसा र प्रतिगमन रोक्न माग गरेका छन्। कार्यक्रममा जनता समाजवादी पार्टीकी नेतृ एवं पूर्वमन्त्री हिसिला यमी, राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीलगायत सहभागी थिए। मार्चमा सहभागीहरूले बलात्कारपछि हत्या गरिएका कञ्चनपुरकी निर्मला पन्त, बैतडीकी भागरथी भट्टलगायतलाई न्यायको माग गरेका छन्। उनीहरूले दिनहुँ महिला एवं बालिकाहरू असुरक्षित रहँदा पनि सरकारले उनीहरूलाई न्याय दिन नसकेको भन्दै उनीहरूले आक्रोश पोखेका छन्।

त्यस्तै प्रतिगमनविरुद्ध सडक संघर्षमा होमिएको नागरिक आन्दोलनले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग अघि सोको छ। जननिर्वाचित संसद विघटन गरेर संविधान र लोकतन्त्रलाई धरापमा पारेको, बलात्कारी, हत्यारालाई कारवाही गर्न नसकेको भन्दै उनीहरूले ओलीको राजीनामा मागेका हुन्।

तस्बिर: मुकुन्द कालिकोटे