काठमाडौँ। नेकपाका प्रचण्ड-नेपाल समूहका नेता जनार्दन शर्मा ‘प्रभाकर’ले केपी ओलीलाई गालि गर्ने मात्रै भन्दा पनि उनी कसरी पैदा भए? त्यसका बारेमा समिक्षा गर्नुपर्ने बताएका छन्।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बुधबार प्रतिगामी केपी ओली सरकारका विरुद्धमा राजधानीमा आयोजना गरेको विरोध सभामा बोल्दै नेता शर्माले उक्त कुरा बताएका हुन्। उनले भने, ‘यो सीमित अधिकारको परिणाम हो। केपी ओली कसरी पैदा भए? यसको समिक्षा गर्नुपर्छ। केही गल्तिको जिम्मा लिन म तयार छु। अन्यथा यो स्वीकार गरेनौँ भने फेरि महेन्द्र र ओलीहरु जन्मिन्छन्।’
उनले राष्ट्र निमार्णमा सबै एकजुट हुनुपर्नेमा जाड दिएका छन्। साथै उनले केपी ओली सरकारको चर्को आलोचना गरेका थिए। उनले भनेका थिए, ‘केपी ओलीले संघीय कुर्चीसँग साट्नु भयो। गणतन्त्रलाई पदसँग साट्नु भयो।’
उनले अगाडि भनेका छन्, ‘संविधानमा लेखिएको जनताको अधिकार कानून बनाउने क्रममा भाँचकुच पारिएको छ। जनताका समस्या समाधान गर्नुपर्ने ठाउँमा ओलीहरुले ओम्नीहरुको संरक्षण गरिरहेका छन्। समावेशी समानुपातिक अधिकार बोलीमा सीमित गर्ने, मौलिक अधिकारलाई नारा मात्रै बनाउनेविरुद्ध निरन्तर आन्दोलन गर्नुपर्ने छ। त्यसैले हामीले पार्टीभित्रको लोकतन्त्रलाई मजबुत बनाइनुपर्ने हुन्छ।’
उनले राज्यका संरचनाहरुमा लोकतान्त्रिकरण नभएका कारण दुःख पाइरहेको बताएका थिए। राजनीतिक शक्ति मात्रै नभएर सबै क्षेत्रलाई समेटेर लोकतन्त्रको रक्षाका लागि लड्नुपर्ने उनको भनाई छ।