पाँच घण्टापछि रामकुमारी झाँक्री नि:सर्त रिहा



काठमाडौँ। बिहीबार दिउँसो १ बजे पक्राउ परेकी नेकपा प्रचण्ड-माधव समूहकी नेता रामकुमारी झाँक्री पाँच घण्टापछि रिहा भइएकी छन्।

झाँक्रीलाई प्रहरीले बिहिबार साँझ रिहा गरेको हो। महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उनका श्रीमानको जिम्मामा रिहा गरिएको बताएका छन्।

नेता झाँक्रीले नि:सर्त आफू रिहा भएको बताईन। प्रतिगमन ढल्न थालेको दोहोर्याइन्। उनले भनिन्, ‘संसद पुन:स्थापना पहिलो सर्त हो। हामीले लडाईं जितिसकेका छौं। घोषणा गर्न मात्रै बाँकी हो। मेरो रिहाको लागि विभिन्न राजनीतिक दल, नेतृत्व, विद्यार्थी र सञ्चारकर्मी सबैलाई धन्यवाद दिएकी छन्।

केही दिन पहिले गोरखामा राष्ट्रपतिबारे अभिव्यक्ति दिएकी रामकुमारीलाई प्रहरीले राज्यविरुद्धको कसूरको अभियोगमा अनुसन्धान गर्न जरुरी पक्राउ पूर्जी थमाएर बिहीबार दिउँसो १ बजे पक्राउ गरेको थियो। उनलाई मिनभवनस्थित महाशाखाको कार्यालयमा झण्डै साढे ५ घण्टा राखेर साँझ रिहा गरिएको छ। प्रचण्ड-माधव समूहका नेता योगेश भट्टराईका अनुसार उनलाई प्रहरीले गोरखामा राष्ट्रपतिबारे दिएको अभिव्यक्तिबारे सोधपुछ गरेको थियो।

जवाफमा झाँक्रीले राष्ट्रपति संस्थाप्रति आफ्नो सम्मान रहेको तर व्यक्तिका विषयमा अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गरेर बोलेको बताएकी छन्। उनी पक्राउ परेको विरोधमा दिनभर प्रदर्शन र विरोध भएको थियो।