रामकुमारीलाई रिाह गर्न प्रचण्ड-नेपाल पक्षको माग



काठमाडौँ। नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी ओलीको ठाडो आदेशमा रामकुमारी झाँक्रीलाई पक्राउ गरिएको दाबी गरेका छन्।

बिहिबार पेरिसडाँडामा आज आयोजित एक कार्यक्रममा अध्यक्ष प्रचण्डले रामकुमारीको पक्राउ लोकतन्त्रमाथिको हमला भएको र रामकुमारीले लोकतन्त्रप्रति प्रखर रुपमा बोलृका कारण पक्राउ गरिएको बताए। उनले भने, ‘यो लोकतन्त्रमाथिको आक्रमण हो।’

आफूहरुले रामकुमारीलाई पक्राउ नगर्न आग्रह गर्दा गर्दै केपी ओलीको ठाडो आदेशमा पक्राउ गरिएको प्रचण्डले बताए। बिहिबार राज्यविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले झाँक्रीलाई शंखमुल उनको घरबाटै पक्राउ गरेको थियो।

त्यस्तै प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले बिहीबार विज्ञप्ति जारी गर्दै रामकुमारीको गिरफ्तारीको विरोध जनाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाउँदै गरिएको यस गिरफ्तारीले वर्तमान सरकारको घोर अलोकतान्त्रिक, निरंकुश र सर्वसत्तावादी चरित्रलाई उदांगो पारेको छ।’

लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने भन्दै श्रेष्ठले रामकुमारी पक्राउको घोर निन्दा तथा भत्सर्ना गरेका छन्। साथै झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेका छन्।