रामकुमारी झाँक्रीले अन्तत: दिइन् गिरफ्तारी



काठमाडौँ। नेकपा (प्रचण्ड-नेपाल) पक्षकी नेता रामकुमारी झाँक्रीले अन्ततः गिरफ्तारी दिएकी छन्। नेकपाका कार्यकर्ताहरुले उनको गिरफ्तारी रोक्न चर्को नाराबाजी गरिरहेका छन्।

नेता झाँक्रीले राष्ट्रपतिका बारेमा आफूले बोलेको कुरा राजनीतिक भएको भन्दै प्रहरीलाई पक्राउ पूर्जी ल्याउन अनुरोध गरेकी छन्। सोधपुछको नाममा प्रहरीले नेता झाँक्रीलाई प्रहरीले गिरफ्तार गर्न खोजेको थियो।

प्रहरी पक्राउ गर्न पुगेपछि झाँक्रीले भनिन्,‘तानाशाहाको अन्त्य हुने बेला यस्तै हो ओलीको पनि अन्त्य हुँदैछ। मर्ने बेला कमिलाको पनि पाख आउँछ, त्यही हो।’ पहिलो त्यहाँ सादा पोसाकमा प्रहरी पुगेका थिए। ठूलो संख्यामा समर्थक नारावाजीमा उत्रिएपछि पोसाकमा ठूलो प्रहरी परिचालन गरिएको छ।

गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो।

‘राष्ट्रपतिका कुरा त के गर्नु रु म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु। निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्,चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु’ गत साता गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन्।

नेकपा केन्द्रीय सदस्यसमेत रहेकी झाँक्रीले काठमाडौंमा बुधबार आयोजना गरिएको विरोध सभामा राष्ट्रपति सम्मनित संस्था भए पनि उक्त पदमा बस्ने व्यक्तिको कार्यशैली ठीक नभएको भन्दै गलत कार्यशैलीको विरोध गरेको बताएकी थिइन्।

तस्बिर: रातोपाटी