काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षकी नेता रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गर्ने तयारी थालेकाे छ।
नेता झाँक्रीलाई महानगरीय अपराध महाशाखाको प्रहरी टोलीले सोधपुछका लागि बोलाउँदा उपस्थित नभएपछि बिहीबार गिरफ्तारको तयारी गरेको हाे।
यस विषयका सन्दर्भमा नेकपा माधव-प्रचण्ड पक्षका नेता विष्णु रिजालले समाजमि सञ्जाल फेशबुक मार्फत लेखेका छन्, ‘राजतन्त्र भएको बेलामा ‘पम्फादेवीका नाममा रानी ऐश्वर्यले स्वीस बैंकमा पैसा राखेकी छन्’ भनेर सडकमा नारा लाग्दा कोही समातिएन। ‘राजा वीरेन्द्रको बंश विनाश ज्ञानेन्द्र र पारसले गरेका हुन्’ भनेर बोल्दा-लेख्दा कसैमाथि मुद्दा लगाएको सुनिएन। आज गणतन्त्रमा गणतन्त्रका लागि रगत बगाउने रामकुमारी झॉक्रीलाई ‘राष्ट्रपतिको आलोचना गरेको’ अभियोगमा गिरफ्तार! हेक्का रहोस् आफूले बसालेको नजीर कुनै दिन आफैंमाथि भारी नहोस्।’
यसअघि झाँक्रीलाई पक्राउ गर्न सरकारले प्रहरीलाई चर्को दबाब दिँदै आएको थियो। झाँक्रीमाथि राष्ट्रपतिको मर्यादामा आँच पुर्याउने अभिव्यक्ति दिएको आरोप छ। ओली पक्षको अखिल नेपाल महिला संघ (अनेमसंघ)ले झाँक्रीलाई कारबाहीको माग गर्दै गत साता गृहमन्त्री रामबहादुर थापालाई ज्ञापनपत्र बुझाएको थियो।
‘राष्ट्रपतिका कुरा त के गर्नु? म बडामहारानीलाई गोरखाबाटै सन्देश दिन चाहन्छु,‘निर्वाचनको तयारीका लागि सुखसुविधा ऐश–आराम छाडेर शितलनिवास छाडेर पहिला कोटेश्वरमा आउनुस्, चाबहिल कि कता बानेश्वरतिर बसाइ छ भन्ने सुन्या छु, होइन भने बालकोटै गए पनि हुन्छ। नेपालको कुन जिल्लाबाट चुनाव लड्ने हो? त्यसको तयारी गरेर सन्देश पठाउनुस्, तपाईंसँग म पनि भारी हुन्छु’ गत साता गोरखामा आयोजित एक कार्यक्रममा झाँक्रीले भनेकी थिइन्।
नेकपा केन्द्रीय सदस्यसमेत रहेकी झाँक्रीले काठमाडौँमा आयोजना गरिएको बिरोध सभामा राष्ट्रपति सम्मनित संस्था भएपनि उक्त पदमा बस्ने व्यक्तिको कार्यशैली ठीक नभएको भन्दै गलत कार्यशैलीको विरोध गरेको बताएकी थिइन्।
‘हामीले ल्याएको व्यवस्थामा बोल्न पाइन्छ। महिला अस्मिता र संविधानविरुद्ध काम गर्ने खलपात्रविरुद्ध बोल्दा महिलाको अस्मिता मिचिदैन बरु भागरथी भट्ट र निर्मला पन्तको बलात्कार र हत्या हुँदा मिचिन्छ। राष्ट्रपति संस्था हो, संस्थाको कुनै लिंग हुँदैन’, झाँक्रीले बुधबार काठमाडौमा भएको सभामा भनेकी थिइन्।