काठमाडौँ। प्रतिनिधिसभा विघटनको मुद्दामा प्रधानमन्त्रीको तर्फबाट वहस गरिरहेका वकिलहरुले बिहिबार आफ्नो बहस सिध्याउँने भएका छन्।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले बुधबार वकिलहरुको अनुमतिमा बेन्च असिस्टेन्टलाई नाम टिप्न निर्देशन दिएका थिए। प्रधानमन्त्रीका वकिलहरु तछाड–मछाड गरेर नाम टिपाए। वकालतनामा बुझाएका वकिलले इजलासमा नाम टिपाएपछि मुद्दामा बहस गरेको ठहर्छ।
नाम टिपाउने वकिलको ताँती लागेपछि प्रधानन्यायाधीशले भनेका थिए, ‘आज नाम टिपाएपछि फेरि भोलि बहस गर्न पाउनुहुन्न् नि।’ त्यसपछि एकजना वकिलले आफ्नो नाम मेटाउन आग्रह गर्दै भने, ‘म भोलि नै बहस गर्छु।’ प्रधानमन्त्रीका वकिल काशिनाथ मरासिनी, बोलाराम पाण्डे र राजाराम घिमिरेसहित १० जनाभन्दा बढी वकिलले नाम टिपाएका छन्।
प्रधानमन्त्रीको तर्फबाट आज (बिहिबार) अन्तिम बहस हुनेछ। प्रधानन्यायाधीशले बिहिबार चिया ब्रेकअघि बहस सिध्याउन प्रधानमन्त्रीका कानुन व्यवसायीलाई आग्रह गरेका छन्।