काठमाडौँ। नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगमनका विरुद्धको आन्दोनलमा आउनका लागि कांग्रेसलाई खुट्टा नकमाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री केपी ओलीको प्रतिगामी, अलोकतान्त्रिक र असंवैधानिक कदमको विरोधमा बुधबार काठमाडौँमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै प्रचण्डले कांग्रेसलाई यस्तो आग्रह गरेका हुन्।
‘प्रचण्डले भने, ‘लोकतान्त्रिक आन्दोनलको नेताको छवि बनाएको नेपाली कांग्रेस र संघीय लोकतान्त्रिक गणतन्त्रको छवि बनाएको जनता समाजवादी लगायतका पार्टीहरु अब कुनै भ्रममा पर्न आवश्यक छैन। कन्फ्युजन पनि हुन पर्दैन हामी सबैले भनेकै छौँ। शान्ति सम्झौताको हस्ताक्षर गिरिजाप्रसाद कोइरालाले गर्नुभएको हो र, संविधान सभाबाट पहिलो संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गर्ने काम पनि प्रधानमन्त्रीको रुपमा गिरिजाप्रसाद कोइरालाले गरेको हो।’
प्रचण्डले संयुक्त आन्दोलन गर्नेबारेमा काँग्रेसले अनिच्छा देखाएको प्रति संकेत गर्दै नेपाली काँग्रेसका सवै नेता कार्यकर्ताले काँग्रेस नेताहरुले गरेको योगदानको स्मरण गर्न आग्रह गरे। ‘काँग्रेस नेता कार्यकर्ताले पनि सम्झनु भएकै होला यो कुरा। अनि यही संविधान हो, जुन संविधानले प्रधानमनत्रीलाई विशेषअधिकार दिनु हुदैन भनेर बनाइयो त्यो संविधान बनाउने बेलामा पनि काँग्रेसकै नेता सुशील कोइराला हुनुहुन्थ्यो।’
उनले सुशील कोइरालालाई ‘फादर अफ कन्ट्च्यिुसन’ भएको बताउँदै भने, ‘अहिले गिरीजाबाबु पनि हुनुहुन्न, सुशील पनि हुनुहुन्न,अहिले शेरबहादुरजी हुनुहुन्छ। तपाईं शान्ति सम्झौता गर्ने, संविधानसभा गर्ने, संविधान निर्माणमा तपाईं पनि नेता।’
त्यस्तै उनले केपी ओलीतिर लागेका मानिसहरु आफूहरुतिर फर्किन थालेको दावी गरेका छन्। उनले ओली सरकारका दुईजना मन्त्री प्रचण्ड–माधव पक्षमा फर्किन चाहेको र त्यसका लागि आफूहरुसँग वार्ता भइरहेको दावी समेत गरे।
उनले प्रधानमन्त्री ओलीले आफूसँग पचासौँ वर्ष सँगै काम गर्ने नेता कार्यकताहरुलाई अपमान गरेर गल्ती गरेको पनि बताए। उनले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव पनि दिए। ओलीले भूमि आयोग बनाएर किसानमा भ्रम छरेको टिप्पणी समेत गरे। उनले ओलीको निरंकुशताको विरुद्ध संयुक्त आन्दोलन गर्न नेपाली कांग्रेसलाई आग्रह समेत गरेका छन्।