प्रचण्ड-नेपाल समूहको शक्ति प्रर्दशन आज



काठमाडौँ। नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौमा बृहत जनप्रदर्शनसहित विरोध सभा गर्दैछ।

प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित यो कार्यक्रमलाई सो पार्टीले आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएको छ। सभामा दुई लाख मानिस सहभागी हुने नेकपा प्रचण्ड–माधव पक्षको भनाइ छ।

भृकुटी मण्डमा हुने विरोध सभामा सो पार्टीका शीर्ष नेताले सम्बोधन गर्दैछन्। सभाअघि ११ बजे उपत्यकाका विभिन्न ५ स्थानबाट विरोध जुलुस निकालिने छ। विरोधसभा अघि पुल्चोक, कुपण्डोल, माइतीघर, जमल, लैनचौरबाट छुट्टाछुट्टै निस्कने जुलुस सुनधारामा मुल जुलुसमा परिणत हुनेछ। मूल जुलुस जमल घण्टाघर, पुतलीसडक हुदै भृकुटीमण्डमा पुगेर सभामा परिणत हुनेछ। जुलुसको नेतृत्व केन्द्रीय नेताहरुले गर्नेछन्।

केन्द्रीय संघर्ष समितिले सबै सहायक जुलुस ११ बजे शुरू हुने बताएको छ भने मूल जुलुस १२ बजे सुन्धाराबाट शुरू हुनेछ। अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले प्रतिगमनविरुद्धको विरोधसभा सहभागी हुन सर्वसाधारणलाई भिडियोमार्फत अपिल गरेका थिए।