कर्णाली सरकारले सञ्चार गृहलाई एक–एक लाख आर्थिक सहयोग गर्ने



सुर्खेत। कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका प्रत्येक सञ्चार गृहलाई एक/एक लाख रुपैयाँ दिने निर्णय गरेको छ।

प्रदेश सरकारले (कोभिड-१९) महामारीलाई दृष्टिगत गर्दै प्रदेशभित्रका एफएम रेडियो, केवल टेलिभिजन र सिनेमाहललाई एक/एक लाख दिने निर्णय गरेको हो।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीका अनुसार कोरोना महामारीको ठूलो असर सञ्चार क्षेत्रमा परेको छ। त्यसैले प्रदेशभित्रका सबै एफएम रेडियो, केवल टेलिभिजन र सिनेमा हललाई एक–एक लाख दिने मन्त्रालयले निर्णय गरेको सुनाए।

मंगलबार नेपाल पत्रकार महासंघ शाखा सुर्खेतको २५औं साधारणसभालाई सम्बोधन गर्दै मन्त्री भण्डारीले पत्रकारहरुले उक्त खबर सुनाएका हुन्। उनले नेपाली जनताको आशु, रगत र पसिनाबाट लेखिएको संविधान धरापमा परेको दाबी गरे।

उनले भनेका छन्, ‘जनताको बलिदानबाट प्राप्त अधिकार खोसिने हो कि भन्ने यतिबेला नेपाली जनमा एउटा आशंका छ। अब त्यसो हुन नदिन तपाईंहरुका कलम चल्न आवश्यक छ।’  सुर्खेत शाखाको २५ औँ साधारणसभामा नौ जना पत्रकार सम्मानित भएका छन्। शान्ति र विकास पत्रकारिता पुरस्कारबाट देवीराम देवकोटा, डम्मर आचार्य, चाँदनी कठायत, भानुभक्त खड्का सम्मानित भएका छन्।

त्यस्तै खानेपानी तथा सरसफाइ पत्रकारिता पुरस्कारबाट खिम बुढा र मानबहादुर वली, वर्ष पत्रकारिता पुरस्कारबाट ललित बुढा र मधुवन बिसी, स्वर्गीय पत्रकार नन्दु गेलाङ स्मृति पत्रकारिता पुरस्कारबाट गीता थापा सम्मानित भएको महासंघ सुर्खेतका शाखा अध्यक्ष गणेशकञ्चन भारतीले जानकारी दिए।